डडेल्धुरामा अनुमति बिना सिसमका रुख कटानः पक्राउ परेका दुई जनालाई जमानीमा छाडियो
डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–५ मा अवैध रूपमा सिसौका रूख कटानमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जनालाई डिभिजन वन कार्यालय डडेल्धुराले छोडेको छ। भुवनेश्वरी नमुना मावि परिगाउँका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई भिजन वन कार्यालयले छोडेको हो।प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई चारजनाको जमानीमा छाडिएको डिभिजन वन कार्यालयले जनाएको छ।
‘प्रारम्भिक रिपोर्टअनुसार मुद्दा अगाडि बढाएको र अदालतबाट म्याद थप गरेर हिरासतमा राख्न निवेदन पेश गर्दा अदालतले स्वास्थ्य परीक्षण गरेर ल्याउन निर्देशन दिएपछि उनीहरूको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकोले दुवैजनालाई छोडिएको जनाइएको छ।
उनीहरूको सम्पर्कमा आएका कर्मचारी होम आइसोलेसनमा बसेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। डिभिजन वन कार्यालय डडेल्धुराले अवैध रूपमा काटिएका सिसौ र हल्दोका गरी १८८.८० क्युफिट काठ कटान भएको तीन दिनपछि मात्रै बरामद गरेको थियो।
प्रारम्भिक विवरणअनुसार सिसौका ८ र हल्दोका दुई रूख काटिएको पाइएको थियो। रूख कटान भएको पाँच दिन भइसक्दा समेत पूर्ण विवरण नआएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। अनुसन्धान तीव्र गर्नुपर्ने भए पनि डोजर प्रयोग गरी खाडलमा पुरेको काठ र स्थानीयको घरमा लुकाएर राखेको काठ बरामद नगरेको उनीहरूको आरोप छ।