कञ्चनपुरको माइली बजारमा अटो र मोटरसाइकल ठोक्किँदा ७ जना घाइते
कञ्चनपुर: कञ्चनपुरमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। बुधबार जिल्लाको पुर्नवास नगरपालिका– २ माइली बजारमा लु२स ००८१ नम्बरको अटो र से१प ७६४४ नम्बरको मोटरसाइकल ठोक्किएको इलाका प्रहरी कार्यालय त्रिभुनव बस्तीले जनाएको छ।
७ घाइते मध्ये ४ जनालाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए। उनका अनुसार मोटरसाइकल चालक रामभजन राना, राजेन्द्र मिजार सुनार, राधेश्याम राना र आकाश विकलाई अस्पताल पठाइएको हो। ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको उनले बताए। बाँकी ३ जनाको स्थानीय स्वास्थ्य चौकरीमा उपचार भइरहेको प्रहरीले बताएको छ।