बझाङमा वडासचिव अवस्थीमाथि भएको आक्रमणको कर्मचारी युनियनद्वारा निन्दा
काठमाडौँ : नेपाल निजामती कर्मचारी युनियनले बझाङको चिरवित्थड गाउँपालिका–८ का सचिव दत्तराम अवस्थीमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ।
युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले मंगलबार एक विज्ञप्तिमार्फत वडासचिव अवस्थीलगायतलाई अवैधानिकरूपमा माग गरिएको चन्दा नदिएको र स्थानीय व्यक्तिगत रिसिवीका कारण कार्यालयमै केही अवाञ्छित व्यक्तिहरुले सामूहिक साङ्घातिक आक्रमण गर्दै अमानवीय र अभद्र व्यवहार गरेको उल्लेख गरेका छन्।
युनियनले राष्ट्रसेवक कर्मचारीलाई आस्था र अन्य वैयक्तिक कारण सामाजिकरूपमा गलत व्यवहार गर्नु दुःखद भएको उल्लेख गर्दै दोषीलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै राष्ट्रसेवकलाई निष्पक्ष, तटस्थ, भयमुक्त र स्वतन्त्ररूपमा कामकाज गर्ने वातावरण कायम गर्दै आम राष्ट्रसेवकको जीउधनको सुरक्षा गर्न पनि युनियनले सरकारको ध्यानाकर्षण गराएको छ।