सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा दैनिक सङ्क्रमितहरु घट्दै

२०७८ माघ ११, ०४:४६ रासस

नयाँ दिल्ली: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी आउन थालेको छ। सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको देखिएको हो। 

मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएका छन्। अघिल्लो दिन सोमबार विहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हजार ६४ जना नयाँ सङ्क्रमित भएका थिए। आइतबारको तुलनामा सोमबार दैनिक सङ्क्रमितहरुको सङ्ख्या २७ हजार ४६९ ले घटेको थियो।

भारतमा अहिले कोरानाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २२ लाख ३६ हजार ८४२ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६७ हजार ७५३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिले एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी देखिएको छ। यसले गर्दा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ। 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस