सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा वडाध्यक्ष र सचिवलाई दुर्व्यवहार गर्ने ४ जनाविरुद्ध मुद्दा दर्ता

२०७८ माघ ११, ०४:३६ खबर संवाददाता

बझाङ: बझाङमा वडाध्यक्ष र सचिवलाई दुर्व्यवहार गर्ने ४ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ। आइतबार बझाङको वित्थडचिर गाउँपालिका– ८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई कालोमोसो लगाएर दुर्व्यवहार गरेको भन्दै ४ जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको हो। 

दुर्व्यवहार गर्नेहरूले प्रयोग गरेको जीपका चालक जयपृथ्वी नगरपालिका ७ सुवेडा घर भएका २३ वर्षीया  विनोद बमलाई पक्राउ गरी आफन्तको जिम्मामा छोडेको छ। त्यस्तै दुर्व्यवहारमा संलग्न नेपाल कम्युनिष्ट पार्टीका जयपृथ्वी नगरपालिका ९ देवलका अशोक धामी, दुर्गाथली गाउँपालिकाका कमल थापा, ठेगाना नखुलेका तिलक कुँवर र थलारा गाउँपालिकाकी जानकी खड्काको नाममा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दर्ता गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर विष्टले उनीहरूविरुद अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको र उनीहरूको खोजि कार्य भइरहेको बताएका छन्। आजै वडाध्यक्ष मल्ल र सचिवले सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरी दुर्व्यवहार गर्नेलाई यथाशीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउन आग्रह गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस