सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सरकारी कार्यालयबाटै आदेशको उल्लंघन, राजस्व असुली गर्दा भिड

२०७८ माघ ११, ११:२३ कमल सावद

धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिकाका गयाधिन राना ट्याक्टरको ब्लुबुक र सवारी चालक अनुमति पत्रको अध्यावधिकका लागि यातायात कार्यालय धनगढी पुगे। अन्य समय जस्तै यातायात कार्यालयमा सेवाग्राहीको भिड थियो। बिहान ९ बजे यातायात कार्यालय पुगेका उनी लाइनमा बसे।

कोरोनाको खोप लागाए– नलगाएको बारे कसैले पनि सोधेनन्। यातायात कार्यालयमा अन्य समयका जस्तै भिड भएकाले कोरोना भाइरसको संक्रमण फैलिने चिन्ता उनको छ। कर समयमा नतिरे जरिमाना हुने भएकाले यातायात कार्यालय पुगेका बताउदै उनले भने, ‘कोरोना संक्रमणको डर त छ। तर कर नतिरेमा कार्बाही हुन्छ।’

यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले जोरबिजोरको आधारमा सेवा दिएको बताए। उनले भने, ‘हामीले जोरबिजोरमा सेवा दिएका छौ। नयाँ भिजिट रोकिएको छैन। खोपकार्ड हेरेका छैनांै।’ उनले कर्मचारीको कोरोना परीक्षण नगरेको बताए।

राजस्व संकलन गर्ने कैलालीका सरकारी कार्यालयमा यातायात कार्यालयको जस्तै भिड छ। ती कार्यालयमा स्थानीय प्रशासनले जारी गरेका सबै आदेशको उल्लंघन भएको छ। कोरोना भाइरसको रोकथामका लागि स्थानीय प्रशासनले जारी गरेको आदेशको बेवास्ता गर्दै राजस्व संकलन गर्ने सरकारी कार्यालय धमाधम चलेका हुन्। 

आन्तरिक राजस्व कार्यालय तथा मालपोत र नापी कार्यालयमा पनि सेवाग्राहीको भिड छ। मालपोत कार्यालय धनगढीका प्रमुख सुरेन्द्र केसीले कोरोना भाइरस विरुद्धको खोप लगाए÷नलगाएको हेर्ने नगरिएको स्वीकारे। ‘कर्मचारीले पनि कोरोना परीक्षण गर्नुभएको छैन,’ उनले भने, ‘परीक्षण नै नगरे कोरोना देखिने कुरा पनि भएन। सबैले खोप लगाएका छन्।’ 

कर्मचारीमा कोरोना संक्रमण फैलिएकाले जिल्ला प्रशासन, स्थानीय तह लगायतका कार्यालय लगभग बन्द गरिएका बेला सरकारलाई कर बुझाउने कार्यालयहरुको भने सेवा सञ्चालनमा रहेको हो। यस्तै जिल्लामा स्थानीय प्रशासनले सार्वजनिक स्थानमा कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेका बेला धनगढीका सरकारी कार्यालयहरुले नै उल्लंघन गर्दै आएका हुन्। कार्यालयमा खोप कार्ड भए÷नभएको कुनै चेकजाँच नै हुँदैन। बजार जाँदा खोपकार्ड अनिवार्य गरेको सरकारले कर बुझाउन जाँदा भने बेवास्ता गरेको हो।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस