बझाङमा विप्लव समूहको आतंक, चन्दा माग्दै वडाध्यक्षलाई कुटे
धनगढीः बझाङमा विप्लव समूहका युवाहरुको समूहबाट वडाध्यक्ष कुटिएका छन्। जिल्लाको बित्थरचिर गाउँपालिका वडा नम्बर-८ का अध्यक्ष जयबहादुर मल्ल युवाको समूहबाट कुटिएका हुन्। उनलाई कालोमोसो समेत दलिएको छ।
आइतबार साँझ १०÷१५ जना युवाहरुको समूह वडा कार्यालयभित्रै प्रवेश गरेर कर्मचारीहरूमाथि हातपात गर्दै वडाध्यक्षलाई कुटपिट गरेको बताइएको छ। एक लाख पाँच हजार रुपैँया माग गरेका युवाहरुले अध्यक्षमाथि कुटपिट गरेको बझाङ प्रहरीले बताएको छ। उनी उजुरीका लागि प्रहरीमा जाँदैछन्। रुपैँया नदिए ज्यानमार्ने धम्कीसमेत दिएको उनले बताए।
उनीहरु नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्ता रहेको वडाध्यक्षले बताए। वडाध्यक्ष मल्लले भने, ‘१०÷१५ जनाको समूह थियो। कार्यालयमै प्रवेश गर्दै कालोमसो लगाए। कुटपिट गरे। के गर्ने ? गाउँलेले बचाए।’ हतियारसहित उनीहरुको आएको दाबी उनको छ।