खोपकार्ड अनिवार्यको निर्णय कार्यान्वयनमा चुनौती
धनगढीः सुदूरपश्चिममा १८ वर्षदेखि माथिको जनसंख्या १९ लाख बढी र जम्मा जनसंख्या २९ लाख हाराहारी रहेको प्रदेश सरकारको अनुमान छ। तर प्रदेशका १६ लाख बढीले मात्रै कोरोना भाइरसको पहिलो मात्रा लगाएका छन् भने पूर्ण खोप पाउनेको संख्या १० लाख बढी छ।
प्रदेशका १२ देखि १७ वर्ष उमेर समूहका तीन लाख बढीले खोपको पहिलो मात्रा लगाएका छन्। जम्मा जनसंख्याको झण्डै १० लाख नागरिकले एउटा खोप पनि नपाएको अवस्था छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले १८ वर्षमाथिका ५९ प्रतिशत पूर्ण र ६४ प्रतिशतले पहिलो मात्रा लगाएको बताए।
कोरोना भाइरस विरुद्धको खोप लगाउन बाँकी जनसंख्या धेरै हुँदा प्रशासनको खोपकार्ड अनिवार्य गराउने निर्णय कार्यान्वयनमा समस्या देखिएको हो। प्रदेशको कुल जनसंख्याको आधाले पनि कोरोना भाइरसको पूर्ण खोप लगाउन नसकेको अवस्थामा संक्रमण दर भने ह्वात्तै बढेको छ।
सार्वजनिक स्थल, होटल, पसलहरुमा खोप कार्ड अनिवार्य गरिए पनि कार्यान्वयनमा समस्या हुने देखिएको हो। निर्णय कार्यान्वयनका लागि खोप अभियान सहज बनाउनुपर्ने एकजना स्थानीय भरत जोशीले बताए। `मैले त अझैसम्म खोप लगाउन पाएको छैन,' उनले भने, 'अनिवार्य खोपकार्डको निर्णय कार्यान्वयन गर्न खोपमा पहुँच सहज बनाउन आवश्यक छ।'
प्रशासनले गरेको निर्णय कार्यान्वयन भने सम्बन्धित निकायले नै गर्नुपर्ने छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरेरक्षक विश्व अधिकारीले पहिलो जिम्मेवारी सेवा प्रदायकको भएको बताए। ‘होटल, पसलहरुले पनि खोपकार्ड माग्नुपर्ने हो,' उनले भने, 'हामीले कार्यान्वयन भए/नभएको मात्र हेर्ने हो। प्रशासनमा समेत समिति छ।’ सुदूरपश्चिम प्रदेशमा २९ लाख ४१ हजार एक सय ६५ खोपको मात्रा आएकोमा २८ लाख ८५ हजार तीन सय ४९ खोप लगाइएको छ।