‘मृत्युको शय्या’मा साझा प्रकाशन, कर्मचारीलाई मात्रै ८ करोड तिर्न बाँकी
धनगढीः नेपाल सरकारको ६० प्रतिशत सेयर भएको संस्था हो साझा प्रकाशन। गोर्खा भाषा प्रकाशिनी समितिको नाममा १९७० सालमा स्थापना भएको उक्त संस्था १९९० मा नेपाली भाषा प्रकाशिनी समिति भएको थियाे। २०२१ साल मंसिर १७ गतेबाट उक्त संस्था साझा प्रकाशनको नामबाट सञ्चालनमा छ। तर अहिले भने साझा प्रकाशन ‘मृत्युको शय्या’मा पुगेको छ। साझाले हाल जनक शिक्षा सामग्रीले प्रकाशन गरेका किताब बिक्री गर्न पाएको छैन। साहित्यिक किताब बिक्री भएका छैन। कर्मचारीले तलब पाएका छैनन्। घर घाडा तिर्न बाँकी छ। एक हिसाबले उक्त संस्था नै धरापमा परेको मान्न सकिन्छ। ‘व्यापार छैन, साझा प्रकाशन मृत्युको शय्यामा छ’ एक कर्मचारीले दिनेशखबरसँग भने।
वि.स. २०७० सालबाट जनक शिक्षा सामग्रीले आफै पाठ्यक्रम बिक्री गर्न थालेपछि साझा प्रकाशन कामविहिन भएको हो। किताब बिक्रीबाट आएको नाफाले सञ्चालनमा रहेको प्रकाशन आम्दानीविहिन भएपछि संस्था जोगाउनै मुस्किल परेको छ। २०६८ सालमा अवकाश पाएका कर्मचारीको पनि संस्थाले ६ करोड रुपैया तिर्न बाँकी रहेको छ। साझा प्रकाशनका ७५ जना कर्मचारीले १८ महिनादेखि तलब पाएका छैनन्। संस्थाको यस्तो हविगत हुनुमा साहित्यिक किताब बिक्री नहुनु र जनक शिक्षा सामग्रीले प्रकाशन गरेका किताब बिक्री गर्न नपाउनु नै हो।
यस्तै गत वर्षदेखि कक्षा ११ र १२ का किताब पनि वितरण गर्न रोक लगाएपछि साझा ‘बाँच्नै नसक्ने’ अवस्थामा पुगेको छ। ‘साझा प्रकाशन व्यापार गर्ने संस्था हो। तर हाम्रो काम खोसियो। २०७० सालबाट सरकारले जनक शिक्षाका प्रकाशन वितरण गर्न बन्द गरेको छ। गत वर्षदेखि कक्षा ११ र १२ का किताब पनि वितरण गर्न रोकिएको छ’ भटराईले भने, ‘हामीसँग काम छैन। काम नभएपनि आम्दानी हुने कुरा भएन।’
धरान, बिर्तामोड र जनकपुरका कर्मचारीको केही महिनाको तलब दिन बाँकी रहेपनि केन्द्रीय कार्यालयसहित धनगढीका कर्मचारीले १८ महिनादेखि तलब पाएका छैनन्। साझा प्रकाशनका प्रवक्ता होमनाथ भटराईका अनुसार ७५ जना कर्मचारीको तीन करोड २० लाख तलब दिन बाँकी छ। १० जना करारका कर्मचारीको भने चार महिनाको तलब मात्र बाँकी छ। २०६८ सालमा सेवानिर्वित भएका कर्मचारीले पनि ५ करोड चार लाख ९६ हजार पाउन बाँकी छ। साझा प्रकाशनले कर्मचारीलाई मात्र ८ करोड २४ लाख ९६ हजार तिर्न बाँकी रहेको हो।
यस्तै साझा प्रकाशनका दाङ, बुटवल, चितवन, नेपालगञ्ज र विराटनगर साझाले घरभाडासमेत तिर्न बाँकी छ। साझाले दुई वर्षसम्मको घर भाडा तिर्न बाँकी रहेको हो। सबै शाखाहरुको ४० लाख घर भाडा तिर्न बाँकी रहेको भटराईले बताए।
धनगढीमा पनि उस्तै हाल
धनगढीमा भने शाखाको आफ्नै भवन छ। साझा प्रकाशन र साझा स्वास्थ्य एकै भवनबाट सञ्चालनमा छन्। तर साझा प्रकाशनका धनगढी प्रमुख धर्मसिंह मडैले १८ महिनादेखि तलब नपाएको बताएका छन्। उनले भने, ‘२०७७ असारदेखिको तलब खाएका छैनौ। बिक्री भएको पैसा खातामा जम्मा गर्छाै तर केही बिक्री भएको छैन। माथिबाट तलब हाल्ने हो। तर १८ महिनादेखि हालिएको छैन।’
साझा प्रकाशनसँगै साझा स्वास्थ्यको पनि आम्दानी घटेको छ। साझा स्वास्थ्य पनि कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा पुगेको छ। साझा स्वास्थ्य धनगढीका निमित्त प्रमुख रुद्रनारायण यादवले भने, ‘साझा स्वास्थ्यको आम्दानी पहिलेको जस्तो छैन। पहिले दुई÷तीन लाख महिनाको हुँदै आएको थियो। तर अहिले २० हजार पनि हुँदैन।’
साझा स्वास्थ्यले धनगढीको सेती प्रादेशिक अस्पताल, महेन्द्रनगरको महाकाली प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा औषधि बिक्री गर्दै आएको छ। ‘कर्मचारी थपिएको छैन। पुराना साथीहरु सेवानिर्वित भएपछि नयाँ आउनु भएको छैन’ यादवले भने।