त्रिनगर–गौरीफन्टा नाका भएर आएका थिए बाजुरामा मृत्यु भएका संक्रमित
धनगढी: केही दिनअघि मात्रै कञ्चनपुरको त्रिनगर–गौरीफन्टा नाका भएर स्वदेश फर्किएका नेपालीको मृत्यु भएको छ। भारतमा उपचारका लागि गएका बाजुराका उनीलाई नाकामा चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।
नाकामा संक्रमण देखिएपछि धनगढीको आइसोलेसनमा नबसेर घर गएका उनको आइतबार होमआइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी लेखनाथ न्यौपानेले बताए। ५२ वर्षीय ती पुरुषको घर खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरी हो।
मृत्युपछि स्थानीयले उनको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दाहसंस्कार गरेका छन्। उनीसँग आएका आफन्त होम आइसोलेसनमा बसेका छन्। हाल बाजुरमा ११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।