प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको जितले आर्मी सेमिफाइनलमा
धनगढीः प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टि २० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ। सुदूरपश्चिमले समूह ‘ए’अन्तर्गत आफ्नो अन्तिम खेलमा आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ माथि ७ विकेटको जित हात पारेको हो।
सुदूरपश्चिमको जितसँगै यो समूहबाट साविक विजेता त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएको छ। १५९ रनको विजयी लक्ष्य सुदूरपश्चिमले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। सुदूरपश्चिमका लागि राजु रिजालले सर्वाधिक ६८ रनको योगदान दिए। ५२ बलको सामना गरेको रिजालले ९ चौका र २ छक्का प्रहार गरे। कप्तान सन्तोष भट्टले ४८ रन बनाउँदा अर्जुन साउद २६ रनमा अविजित रहे। पहिलो विकेटका लागि प्रदिप र सन्तोषले ९८ रनको उत्कृष्ट साझेदारी गर्दै सुदूरपश्चिममा राम्रो सुरुवात दिलाएका थिए।
प्रदेश १ का लागि फिरदोस अन्सारी, मुकुन्द यादव र कमल खत्रीले १-१ विकेट हात पारे। यसअघि टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५८ रन बनाएको थियो। प्रदेश १ का लागि मुकुन्द यादवले सर्वाधिक ३४ रनको योगदान दिए। सोनु अन्सारीले ३१, मनिष थापा र कप्तान अंकित सुवेदीले २३-२३ रन बनाए।सुदूरपश्चिमका लागि हेमन्त धामी र नारायण जोशीले २-२ तथा कैलाश ऐर, शेर मल्ल, आदित्य महता र सन्तोष भट्टले १-१ विकेट हात पारे।
यो जितसँगै ४ खेलमा ४ अंक जोडेको सुदूरपश्चिमले तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्दा ३ खेलबाट १ अंकका साथ प्रदेश १ अन्तिममा छ। योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ। समूह ‘ए’ बाट नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा समूह ‘बी’ बाट नेपाल एपिएफ क्लब र बागमती प्रदेशले सेमिफाइनलमा स्थान बनाए। माघ ४ गते हुने पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लबले समूह ‘बी’ को उपविजेता बागमती प्रदेशको सामना गर्नेछ। सोही दिन हुन दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता नेपाल एपिएफ क्लब र समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको फाइनल ५ माघमा हुनेछ।