बैतडीमा टी–१० क्रिकेटः एनआरवाइसी र कैलपाल फाइनलमा प्रवेश
बैतडीः आयोजक एनआरवाइसी टिम र कैलपाल क्रिकेट क्लब बैतडीको दशरथचन्द नगरपालिका–११ मा जारी टी–१० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। बगलेखान खेलमैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरवाइसीले त्रिपुरा सुन्दरीलाई २७ रनले हरायो। एनआरवाइसीले दिएको ७७ रनको लक्ष्य पछ्याएको त्रिपुराले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ४९ रन मात्रै बनाउन सक्यो।
त्यसअघि पहिला ब्याटिङ गरेको एनआरवाइसी ९।२ ओभरमा ७६ रनमा समेटियो। एनआरवाइसीका लागि ३ विकेट हात पारेका ऋषिकेश बोहरा म्यान अफ दि म्याच भए। यस्तै दोस्रो सेमिफाइनलमा सिम टिमलाई १० विकेटले स्तब्ध पार्दै कैलपालले पनि फाइनलको यात्रा सुरक्षित गरेको छ।
सिमले दिएको ८१ रनको लक्ष्य कैलपालले ७।२ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो। कैलपालको जितमा नटआउट ४६ रन बनाएका प्रदीप चन्द म्यान अफ दि म्याच चुनिए। यी दुबै टोलीबीचको उपाधि भिडन्त आइतबार हुनेछ। प्रतियोगिताका उपाधि विजेतालाई २० हजार नगद, द्वितीय हुने टोलीलाई १० हजार, ट्रफी र मेडल प्रदान गरिनेछ। यस्तै म्यान अफ दि सिरिजलाई २ हजार पुरस्कार दिइने आयोजक नागार्जुन रणसैनी युवा क्लबका अध्यक्ष वीरेन्द्र चन्दले बताए।
नागार्जुन रणसैनी युवा क्लब बठ्ठाको आयोजनामा पुस २४ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागी थिए।