सुदूर नेपाललाई विश्वसँग जोड्दै

एपीएफ बन्यो टाइगर कपको च्याम्पियन

२०७८ माघ १, ०२:२३ खबर संवाददाता

पोखराः विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै एपीएफले दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ। पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा एपीएफले आर्मीलाई ३-० को सेटमा पराजित गर्दै लिग चरणमा बेहोरेको हारको बदला समेत लियो। एक पक्षीय जस्तै बनेको फाइनलमा एपीएफले आर्मीलाई २५-२३, २५-१५, २५-२० ले हरायो।

एपीएफले पहिलो पटक टाइगर कपको उपाधि जितेको हो। गत संस्करण पनि फाइनल खेलेको एपीएफ नेपाल पुलिससँग पराजित हुँदै उपविजेता बनेको थियो। टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको प्रतियोगिता पाँच टोलीले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए। जसमा आर्मी तीन खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको थियो । यस्तै एपीएफ दोस्रो भएर फाइनल पुगेको थियो।

शनिबारै पुरुषतर्फको फाइनलमा हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुनेछ। च्याम्पियन एपीएफले उपाधिसँगै नगद तीन लाख प्राप्त गरेको छ। यस्तै उपविजेता आर्मीले एक लाख ५० हजार प्राप्त गर्दा तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ।

कमेन्ट लोड गर्नुस