सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमलाई हराउँदै आर्मीको दोस्रो जित

२०७८ पुष ३०, ०२:२१ खबर संवाददाता

काठमाडौंः प्रधानमन्त्री कप टि २० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ। समूह ‘ए’मा दोस्रो स्थानमा रहेको आर्मीको ४ खेलबाट ५ अंक भएको छ।

सुदूरपश्चिमले दिएको कमजोर स्कोरमा संघर्षपूर्ण जित निकाल्ने क्रममा आर्मीका लागि विक्रम सोबको अलराउन्डर प्रदर्शन गरेका थिए। शुक्रबार मुलपानी मैदानमा भएको खेलमा सुदूरपश्चिमले आर्मीलाई जितका लागि ११६ रनको लक्ष्य दिएको थियो। जवाफमा आर्मीले उक्त लक्ष्य २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। टस हारेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ११५ रनमा समेटियो। उसका लागि खडक बोहोराले ३७ रन बनाउँदा वसन्त कार्कीले ३४ रन बनाए। त्यस्तै‚ अर्जुन साउदले १५ रन बनाएका थिए। अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाएनन्। सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा विक्रम सोबले ४ ओभरमा ८ रन खर्चिएर ६ विकेट हात पारेका थिए।

११६ रनको लक्ष्य पछ्याएको आर्मीका लागि विक्रम नायक सावित भए। उनले अन्तिमसम्म टिमलाई जितका लागि सहयोग गरे। सोबले २२ बलमा २९ रनको अविजित इनिङ खेलेका थिए। उनीबाहेक ओपनर हरि चौहानले ३३ रन बनाउँदा भीष्म सार्कीले १३ रन बनाए। त्यस्तै‚ कुशल मल्लले ११ रन जोडेका थिए। सहाव अलाम ६ बलमा १२ रन बनाउँदै क्रिजमा अविजित रहे। सुदूरपश्चिमका आदित्य महताले ४ विकेट हात पारेका थिए।

कमेन्ट लोड गर्नुस