सुदूर नेपाललाई विश्वसँग जोड्दै

छाउगोठमा मृत्यु हुँदा समेत छाउगोठ बस्न छोडेनन्

२०७५ पुष २७, ०६:२१ प्रकाश सिंह

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ९ को अंगाउपानीमा मंगलबार राति छाउगोठमा निसासिएर एक आमा दुई छोरा सहित तीन जनाको मृत्यु भएको थियो । छाँउ गोठमै यसरी मृत्यु हुँदासम्म पनि सोही गाँउका महिलाले छाउ गोठ बस्न छोडेका छैनन् । सोही गाँउकी २४ बर्षीया हजारी धामी महिनावारी भएको तीन दिन भयो, उनी तीन दिनदेखि गोठमै बस्दै आएकी छन् । घर नजिकै रहेको गोठमा चिसो सँगै गोठमा बसिरहेको हजारीले वताईन् । उनीक सासु धौली धामी पनि बिहिवारसम्म त्यही गोठमा बसिन्, आज शुक्रवार पाँच दिन भएपछि घर गएको वताईन् । हजारीले भनिन्,– ससुरा गोपी धामी देउता रहेको घरमा बस्न दिदैनन्, अनि बाध्य भएर यही गोठमा बस्ने गरेकी छु । घरमा बस्न कर त गरेको हो सासु ससुरा र अन्य परिवार नमान्ने भएकाले बाध्य भएर गोठमा बस्ने गरेको वताईन् । गोठमा बस्दा चिसोले पखाला समेत चलेको छ, बाहिर हिँउ पर्छ निकै दुखका साथ गोठमा बसिरहेको उनले वताईन् । त्यस्तै हरीलाल रोकायको पनि घर नजिकै छाउगोठ छ, उनकी बुहारी पनि छाँउगोठमा बसिरहेकी छिन् । वडाध्यक्ष खड्क बोहोराले छाउगोठ बस्नु हुदैन भन्दा पनि उल्टै हरिलालले उनलाई हकारेका थिए ।

छाउगोठ भत्काए, कागजमा मात्र छाउगोठ मुक्त
बुढीनन्दा नगरपालिका वडा नं ९ को अंगाउपानीमा मंगलबार राति छाउगोठमा निसासिएर तीन जनाको मृत्यु भएको छाँउ गोठ भत्काएका छन् । स्थानीयले शुक्रवार छाउगोठ भत्काएका छन् । वडा अध्यक्ष खड्क बोहारा र गाँउका महिलाहरुले गोठ भत्काएका हुन् । भत्काएको छाउगोठ १० परिवारको छाउगोठ रहेको स्थानीय महिलाले वताईन् । छाँउगोठमा मृत्यु भएको गोठ भत्काएपनि अन्य गाँउमा रहेका तीन वटा गोठ भने अहिलेसम्म पनि भत्काएका छैनन् । स्थानीय रिउली बोहाराले भनिन्,– घरपरिवार र समाजको दबाबले गोठ बस्ने गरेका छौं । मृतक अम्बा बोहोराका जेठा ससुरा धामी झाक्री भएकाले घर बस्न नदिई बाध्य भएर गोठमा बस्दा मृत्यु भएको रिउलीले वताईन् । उनले आक्रोस पोख्दै भनिन्,– गाँउमा देउता रिसाउँछन्, भनेर समाज र पुरुषले बाध्य भएर गोठमा बसाल्ने गरेका छन्, आफुहरुलाइ समस्या हुन्छ, गोठमा बस्दा चिसो सहनुपर्छ मृत्यु समेत भइसक्यो तर समाजको दवाव रहेको सञ्जु बोहोराले वताईन् । 
तर अर्को कुरा त के छ भने सरकारी, गैर सरकारी संस्था वा नागरिक समाजका ब्यक्ति गाँउमा आएमा गोठमा बस्दैन्, घरमा बस्ने गरेको भने ठग्दै आएको महिलाले वताएकी छन् । स्थानीय तिला बोहोराले भनिन्,– पिसवीन लगायत संघ संस्थाले चलाएको छाउपडी उन्मुलन प्रथा सम्बन्धी कार्यक्रममा आफुहरु घरमा बस्दै आएको भन्ने गरेका थियौ, तर हामी गोठमा बस्दै आएका थियौ, यसको परिणाम अहिले भोगेका छौं । बुढीन्नदा नगरपालिका– ९ तीन बर्ष पहिला निकै तामझामका साथ छाउपडी गोठ मुक्त समेत गरियो, तर महिलाहरु भने गोठमा बस्दै आएको स्थानीय शिक्षक पुष्कर नेपालीले वताए । गाँउमा सबै अभियान कागजमा मात्र छन्, जिल्ला केन्द्रमा छाउगोठ मुक्त भनेर रिपोर्ट गएका छन्, तर गाँउमा यसरी गोठमा मर्ने गरेको शिक्षक नेपालीले वताए । 

कानुन बनेपनि कार्यान्वयन भएन
छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञा सहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ । छाउपडी राखेमा त्यस्तो कार्यमा बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ । तर अहिले सम्म कसैलाई पनि छाउगोठमा राखेको भन्दै कारवाही गरिएको छैन् । बुढिन्नदा नगरपालिका ९ मा मृत्यु भएकी अम्बा बोहाराको घटनालाई पनि कतैबाट छानविन शुरु भएको छैन्, । त्यही गाँउमा अझै पनि छाँउगोठमा बसिरहँदा पनि कतैबाट केही वास्ता भएको छैन् । प्रहरी प्रमुख डिएसपी उद्धब सिंह भाटले पहिला चेतना दिने छाँउगोठ भत्काउने नमानेपछि मुद्धा चलाउने वताएका छन् । सर्वोच्च अदालतले २०६२ सालमा बैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा समेत गरेको थियो । सरकारको निदेशन पछि २०६४ सालमा कुरिति घोषणा गरेर छाउपडी प्रथा उन्मुलन सम्बन्धी निर्देशिका २०६४ समेत जारी गरेको थियो । विशेषगरी नेपालको सुदूरपश्चिमका केही जिल्लामा महिनावारी भएका बखत् महिलाले घरभित्र बस्न नपाउने र गाई, भैँसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ । 

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस