अत्तरियाको सामुदायिक वनमा संरचना, पदाधिकारीले अतिक्रमणकारीबाट घुस लिएको आरोप
धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको सुरक्षा महिला सामुदायिक वनले ८० मिटर क्षेत्रफलमा तारबार लगाउँदैछ। वन क्षेत्र अतिक्रमण भएको भन्दै सामुदायिक वनले तीन लाखको लागतमा ८० मिटर क्षेत्रमा तारबार गर्न ठेक्का सम्झौता गरेको हो। तर स्थानीयले वन क्षेत्रमा तारबार लगाउने काम रोकेका छन्। उनीहरुले सामुदायिक वनका पदाधिकारीलाई घुस दिएपछि संरचना समेत नभत्काइएको आरोप लगाएका छन्।
घुस नदिएका स्थानीयको जमिनमा तारबार लगाएको गुनासो उनीहरुको छ। स्थानीय पशुपती दमाईले सामुदायिक वनका पदाधिकारीले घुस लिएर वन क्षेत्रको जमिन बिक्री गरेको आरोप समेत लगाइन्। उनले भनिन्, ‘सबै ठाउँमा तरबार लगाइएको छैन। घुस दिएकाहरु घर बनाउँदैछन। तर मैले केही नदिएकाले मेरो ठाउँमा तारबार लगाउन खोजे। मैले भत्काएकी हुँ।’
सामुदायिक वनका पदाधिकारीले ४० हजार, एक लाखका दरले वन क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयबाट रकम संकलन गरेको उनीहरुले बताएका हुन्। तर सामुदायिक वन क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले पनि जमिन खरिद बिक्री गर्दै आएका छन्। उनीहरुले ६५ लाख बढीमा टहरासहितको जमिन बिक्री गरेका हुन्। स्थानीय पशुपति दमाईको परिवारले नै चार पटक वन क्षेत्रको जमिन बिक्री गरेका छन्। स्थानीय सीता दमाईंले सो क्षेत्रको वनमा निर्माण गरिएका संरचनासहित जमिन खरिद बिक्री हुँदै आएको बताइन्। उनले भनिन्, ‘यो सामुदायिक वन क्षेत्र हो। हामी बसोबास गर्दै आएको लामो समय भयो। केही जमिन बेचेको साँचो हो। तर कतिमा बेचेको मलाई जानकारी छैन।’
अत्तरिया चोकदेखि पूर्व र दक्षिण क्षेत्रको वन क्षेत्र अतिक्रमण गर्दै ठूला घर तथा भौतिक संरचनाहरु निर्माण गरिएका छन्। सामुदायिक वनका पदाधिकारीले उक्त क्षेत्रमा भौतिक संरचना निर्माण गरेका स्थानीयबाट रकम सङ्कलन गर्दै आएको आरोप लागेको छ।
तर सुरक्षा सामुदायिक वनकी अध्यक्ष लक्ष्मी भण्डारीले कुनै पनि अतिक्रमणकारीबाट घुस नलिएको बताइन्। उनले भनिन्, ‘अतिक्रमण भएको क्षेत्रमा तारबार लगाउन खोजेका हांै। तर अतिक्रमणकारीले हाम्रो संरचना भत्काएका छन्। कसैबाट एक रुपैयाँ लिएको छैन। उहाँहरुले प्रमाणित गर्नुपर्छ। नत्र मानहानीको मुद्दा लगाउँछु।’
सुदूरपश्चिमको स्थायी राजधानीसमेत तोकिएको गोदावरी क्षेत्रका अधिकांश वन क्षेत्रको जमिन अतिक्रमणको चपेटामा छ।