अछाममा एमाले इञ्चार्ज र सह-इञ्चार्जलाई झट्का, स्वकीय सचिव पराजित
धनगढीः नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इञ्चार्ज झपट बोहरा र अर्का केन्द्रीय सदस्य एवम् अछाम जिल्ला सहइञ्चार्ज यज्ञ बोगटीका स्वकीय सचिव जिल्ला अधिवेशनमा पराजित भएका छन्। बोहराका स्वकीय सचिव आदर्श साउद सचिव पदमा र बोगटीका स्वकीय सचिव टोपबहादुर शाहीले उपसचिवमा पराजित भएका हुन्। अधिवेशनमा माओवादीबाट नेकपा एमालेमा समाहित भएका विद्यार्थी नेता डिबी साउदलाई सचिवको उम्मेदवार बनाउने निश्चित भएर प्रचार प्रसारमा सक्रिय रहेकै बेला बोहराले आफ्ना स्वकीय सचिवलाई सचिवमा उठाएका थिए।
स्वकीय सचिव रहेका आदर्शलाई पार्टी जिल्ला कमिटीको सचिवका रूपमा जसरी पनि जिताउनु पर्ने भन्दै उनले निर्वाचन तालिकालाई तीन दिन पछाडि धकेलेका थिए। अन्यथा आफ्नो राजनीति समाप्त हुने भन्दै इञ्चार्ज बोहराले अधिवेशनपछि निर्वाचन तालिका प्रभावित पार्ने कार्य गरेको अरुले आरोप लगाएका छन्। निर्वाचनमा आदर्शको विजयलाई कसैले रोक्न नसक्ने कुरामा विश्वस्त बनेपछि मात्रै बोहरा निर्वाचन प्रक्रियामा जान राजी भएको चर्चा समेत छ। सदरमुकाम मंगलसेनस्थित दरबार होटललाई मुकाम बनाएका उनले आफ्ना विश्वासपात्र स्वकीय सचिवलाई आफ्नै समूहले अन्तरघात गरेर हराएको भन्दै चित्त दुखाएका छन्। त्यस्तै सह इञ्चार्ज र प्रतिनिधिसभा सदस्य बोगटीका स्वकीय सचिव टोपबहादुर शाहीले समेत उपसचिवमा पराजय भोग्नु परेको छ।
नेकपा एमाले अछामको इञ्चार्ज तथा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका बोहराका स्वकीय सचिव आदर्श साउद १ सय ९५ मतले पराजित भएका हुन्। उनका प्रतिस्पर्धी भीम रावल (कालो टोपी) ले ४ सय ५३ मत प्राप्त गर्दा साउद २ सय ५८ मतमा सीमित भएका छन्। यस्तै उपसचिवमा केन्द्रीय सदस्य, जिल्ला सहइञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य यज्ञ बोगटीका स्वकीय सचिव टोपबहादुर शाही आठ मतले पराजित भएका छन्। प्रतिस्पर्धी प्रेमबहादुर महरसँग शाही आठ मतले पराजित भएका हुन्। महरले २ सय ५२ मत प्राप्त गर्दा शाहीले २ सय ४४ मत पाएका छन्।