कञ्चनपुरको शुक्लाफाँटामा नगर अस्पताल निर्माण सुरु
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको छ। दस शय्याको नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको हो।
नगरपालिकाका इन्जिनियर दीपक धामीका अनुसार रु ६ करोड २४ लाखको लागतमा ठेक्का प्रक्रियामार्फत अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको छ। एमके विल्डर्स र निरज कन्सट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ। “भवन निर्माणका लागि कूल बजेट रु १० करोड ८३ लाख रहेको थियो”, उनले भने, “घटाघटीमा निर्माण कम्पनीले रु ६ करोड २४ लाखमा ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाएको छ।”
भवन निर्माणका लागि फाउन्डेसन राख्ने कार्य पूरा हुन लागेको छ । उहाँका अनुसार दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने सम्झौता रहेको छ। सोहीअनुरुप कार्य भइरहेको छ। अस्पतालमा ठेक्का सम्झौताअनुसार पाले घर, स्वास्थ्यकर्मी बस्ने आवास, पर्खाल, शौचालय र गेट निर्माण हुनेछन्।