रियल आठ अंकले अगाडि
म्याड्रिड : रियल म्याड्रिडले स्पेनी ला लिगाको शीर्ष स्थानमा शनिबार आठ अंकको अग्रता खोलेको छ र यसका लागि उसले आफ्नो घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई ४–१ ले हरायो। कार्लो एन्सेलोटीको टिमले पूरा खेल अवधि आफ्नो नियन्त्रणमा राखेर सजिलो जित निकाल्न सफल भएको हो।
यो जितमा करिम बेन्जेमा र भिनिसियस जुनियरले दुई दुई गोल गरे। भ्यालेन्सियाका तर्फबाट गोन्कालो गुडेसले एक गोल फर्काए। फ्रान्सेली खेलाडी बेन्जेमाले रियलका लागि गरेको गोल संख्या ३ सय १ पुगेको छ। क्लबको सर्वकालीन सर्वाधिक गोलकर्ता सूचीमा उनी अब क्रिस्टियानो रोनाल्डो, राउल र अल्फ्रेडो डि स्टेफानोपछि चौथो स्थानमा छन्।
रियलको २१ खेलबाट ४९ अंक भएको छ। शनिबारकै अर्को खेलमा बार्सिलोना ग्रेनेडाको हातबाट १–१ को बराबरीमा रोकियो। बार्सिलोनाले लुक डे जङको गोलले अग्रता लिएको थियो। खेल सकिन एक मिनेट अगाडि ग्रेनेडाका लागि एन्टोनियो पुरटासले बराबरी गोल फर्काए। बार्सिलोना ३२ अंकमा छैटौं स्थानमा छ।
त्यस खेलमा डाली एल्भेसले सन् २०१६ यता बार्सिलोनाका लागि लिगमा खेले। शनिबारका अन्य खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई १–० ले हरायो र लिग तालिकाको चौथो स्थानमा उक्लिन सफल रह्यो। सोसिडाडको यो जितपछि ३३ अंक भएको छ। यस्तै लेभान्टेले मार्लोकालाई २–० ले पराजित ग¥यो। एजेन्सी