कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिता : दीपज्योतीको विजयी सुरुवात
कञ्चनपुर : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिता-२०७८ भव्यताका साथ उद्घाटन भएको छ। बिहीबार भएको उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन क्लब दीपज्योती र द ग्यालेक्सी युथ क्लबबीच भएको थियो।
उक्त खेलमा दीपज्योतिले खेलको पहिलो हाफमा २ गोलको अग्रता कायम राखेको र दोस्रो हाफमा पुन: १ गोल गर्दै द ग्यालेक्सी युथ क्लबलाई ०-३ गोलको अन्तरले हराउदै लिगमा सुखद विजयी सुरुवात गरेको छ। उद्घाटन खेलका म्यान अफ दि म्याच दीपज्योती युवा क्लबका टिम क्याप्टेन करन पाल घोषित हुँदै नगद ११ सय पुरस्कार हात पारेको लिग संयोजक चन्द्र सिंह थलालले बताए।
उनका अनुसार जिल्ला लिग फुटबल प्रतियोगितामा जिल्ला फुटबल सङ्घमा आबद्ध क्लबमध्ये १२ क्लबले सहभागिता जनाएका छन्। शुक्रबार पहिलो खेल कञ्चन समाज र रोयल गिर्खाज युथ सर्कलबीच बिहान १० बजे, दोस्रो खेल निङ्गलाशैनी समाज र त्रीपुरा समाजबीच दिउँसो १ बजे र तेस्रो खेल महेन्द्रनगर युनाइटेड र आदर्श नेपालबीच दिउँसो ३ बजे हुनेछ। लिगमा संघमा आबद्ध दुई क्लब जनसेवा समिति र ग्यालेक्सी क्लब दैजी को भने सहभागिता नरहेको हो।
लिग दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा डिफेन्डिङ जिल्ला लिग च्याम्पियन क्लब दीपज्योती युवा क्लब, द ग्यालेक्सी युवा क्लब, सेक्युर्ड नेपाल, राम युवा क्लब, यूथ क्लब अफ महाकाली र अरनिको युवा क्लब रहेका छन् भने समूह 'बि' मा कञ्चन समाज, रोयल गोर्खाज यूथ सर्कल, निङ्गलाशैनी युवा समाज, त्रिपुरा समाज, महेन्द्रनगर युनाइटेड र आदर्श नेपाल रहेका छन्। महेन्द्रनगरको खुलामञ्चमा पौष २२ गतेदेखि सुरु भएको प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुनेछ।