सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरस : ४३५ सङ्क्रमित

२०७८ पुष २१, ०६:४० रासस

काठमाडौँ:  पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ४३५ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले १० हजार २६७ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जानकारी दिए। 

उनका अनुसार अहिलेसम्म पाँच हजार २२५ जना सक्रिय सङ्क्रमित रहेका छन्। पछिल्लो समय थप २३९ जना कोरोनाबाट निको भएर घर फर्किएका उनले बताए। योसँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार १७६ पुगेको छ। निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यस्तै प्रवक्ता डा मिश्राले पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट कसैको पनि निधन नभएको जानकारी दिए। अहिलेसम्म ११ हजार ६०१ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ। उनका अनुसार ५०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन्। यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन्। नेपालमा सङ्क्रमण दर १७ प्रतिशत रहेको छ। हाल होम आइसोलेसनमा चार हजार ८५२, संस्थागत आइसोलेशनमा ३७३, आइसियुमा ८४ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको छ । 

साढे दुई  लाखले खोप लगाए

मन्त्रालयका प्रवक्ता डा मिश्राले आज दुई लाख ४६ हजार ३८५ जनाले खोप लगाएको जानकारी दिए। अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा एक करोड ४७ लाख १७ हजार २२६ जना र पूर्ण मात्रा एक करोड आठ लाख चार हजार ४१३ जनाले लगाइसकेका छन्। 

कमेन्ट लोड गर्नुस