कैलालीमा चुरे फेदीको वन नक्कली पहिरोपीडित बनेर कब्जा
धनगढीः कैलालीको चुरे गाउँपालिकाका ६० पहिरोपीडित परिवार गत वर्षको मंसिर २७ गते गौरीगंगा नगरपालिकाको चौमाला सरे। गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने टांकगडामा बसोबासका लागि उनीहरु चौमाला पुगेका थिए।
चुरेबाट अत्तरिया हुँदै बसमार्फत चौमाला पुगेका उनीहरु एक वर्षदेखि चुरे फेदीमा बसोबास गर्दै आएका छन्। ६० पहिरोपीडित सुरुमा तराई झरेकोमा अहिले त्यहाँ बसोबास गर्ने परिवारको संख्या पाँच सय बढी पुगेको छ। उनीहरुले चुरे फेदीको वन क्षेत्र नै कब्जा गरेर खेती गर्न थालेका छन्। चुरे गाउँपालिका वडा नम्बर ५ का यज्ञराज खत्रीले सबैले वन क्षेत्र ओगटेकाले आफूले पनि घेरबार हालेको बताए। उनले भने, ‘सबैले जमिन ओगट्नु भएको छ। नदीको किनारमा मैले पनि ओगटेको छु।’
चुरे फेदीदेखि झण्डै तीन किलोमिटर दक्षिणसम्मको वन क्षेत्र पूर्ण रुपमा कब्जा गरिएको छ। शिवगंगाको किनारमा वन फडानी गर्दै निर्माण गरिएका स–साना टहरा र गहुँ खेती मात्र देखिन्छ। प्रत्येक परिवारले १४ मिटरका दरले वन क्षेत्र भाग लगाएका हुन्। उक्त क्षेत्रमा डोजरको प्रयोग गरेर सडक निर्माण गरिएको छ। पहिरो पीडितका नामले बसोबास गर्दै आएकाहरुका डोजरले नै सडक खनेका हुन्।
वन क्षेत्र प्लटिङ गरेर बस्ती बिस्तार गरिएको देखिन्छ। उनीहरुले सोलार बत्तीसमेत जडान गरेका छन्। एक स्थानीयले भने, ‘शिविरमा बस्दै आउनु भएका एकजनासँग डोजर छ। उहाँको डोजरले बाटो बनाएका हौं। मेरो टहरोदेखि चुरे फेदी पुग्न आधा घण्टा लाग्छ।’ वास्तविक पहिरो पीडितभन्दा वन क्षेत्रमा अन्य परिवारको हालीमुहाली भएको छ। ‘५०÷६० परिवार पहिरो पीडित भए पनि अन्य सबै नक्कली पीडित हुन्,’ एक पहिरो पीडितले भने।
एक वर्षदेखि पाँच सय बढी परिवार वन क्षेत्रमा बसोबास गर्दै आएको विषयमा स्थानीय प्रशासन तथा वन कार्यालयलाई समेत जानकारी छ। तर वन कार्यालयहरुले वन क्षेत्रको अतिक्रमण खाली गराउन वास्ता गरिएको छैन। डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीले गाउँपालिका र स्थानीय प्रशासनसँगको समन्वयमा अतिक्रमण हटाउने बताए। उनले भने, ‘पहिरो पीडितहरुलाई सोही समयमा व्यवस्थापन गर्नुपर्ने हो। अझै गरिएको छैन। चुरे गाउँपालिकासँग समन्वय गर्छौ। स्थानीय प्रशासनसँग पनि छलफल गर्छाै।’
चुरे गाउँपालिकाले वास्तविक पहिरो पीडितको छानबिनका लागि भन्दै समितिसमेत गठन गरेको थियो। तर उक्त समितिले पनि कुनै काम गरेको छैन। गाउँपालिकामा गत वर्ष दुई सय ११ परिवार पहिरो पीडित थिए। यो वर्ष झण्डै ६० परिवार थपिएका छन्। दुई सय ७१ परिवारको तथ्याङ भए पनि वन क्षेत्रमा पाँच सय बढी परिवारको बसोबास रहेको छ।
‘गतवर्ष २११ परिवार पहिरो पीडित हुन्,’ चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले भने, ‘यो वर्ष ६० परिवार थपिएका छन्। उहाँहरुको बसोबास एक वर्षदेखि वनमा छ।’ चुरे गाउँपालिकाले पहिरो पीडित परिवारलाई त्रिपाल, पानीका पाइप तथा ट्याङ्की सहयोग गर्दै आएको छ।