सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालविवाह विरुद्धको अभियानमा किशोरी

। फोटो स्रोत ।
२०७५ पुष २५, ०१:१३

बालविवाहका कारण महिलाले थुप्रै किसिमका हिंसा खेप्नुपरेको भन्दै बैतडीका किशोरी बालविवाहविरुद्धको अभियानमा जुटेका छन्। बालविवाहका कारण महिला तथा किशोरीहरुले थुप्रै खालका हिंसा खेप्नु परेकाले आफूहरु बालविवाह विरुद्धको अभियानमा जुटेको किशोरीहरुले बताएका छन्।
जिल्लाका विभिन्न ठाउँमा गठन भएका किशोरी किशोरी वृत्त आवद्ध किशोरी बालविवाह न्यूनीकरण अभियानमा लागेका हुन्। बैतडीमा ५७ वटा किशोरीवृत्त आवद्ध किशोरीले बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेका छन्। 
जिल्लाका विभिन्न स्थानीय तहका वडामा गठन गरिएका किशोरीवृत्त समूहले बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए।
किशोरी वृत्तको पहलमा एक सय बढी बालविवाह रोकिएको उहाँले बताउनुभयो । मागेर हुने बालविवाह रोकिए पनि पछिल्लो समयमा भागेर हुने बालविवाह चुनौतीको रुपमा देखा परेको उनले बताए।
बालविवाहले पार्ने असरका बारेमा अहिले स्वयं किशोरीहरुलाई समेत सिकाउने गरिएको र अभिभावकलाई समेत सिकाउने गरेको किशोरीवृत्तका सहजकर्ताले बताएका छन्। आफूहरुले गाउँगाउँमा गएर अभिभावक र किशोरीलाई बालविवाहले पार्ने असरका बारेमा जानकारी दिन थालेको पञ्चेश्वर गाउँपालिकाका अञ्जु चन्दले बताए।
बालविवाहका कारण किशोरीले शिक्षा ग्रहण गर्न नपाउने, विभिन्न स्वास्थ्य समस्या झेल्नुपर्ने भएकाले आफूहरु बालविवाह न्यूनीकरण अभियानमा जुटेको चम्किला तारा किशोरीवृत्त रौलेश्वरका अध्यक्ष द्रोपती विष्टले बताए। बालिका दुलही होइनन् राष्ट्रिय सञ्जालले पाँच वर्षअघि गरिएको एक अध्ययन अनुसार बैतडीमा ५९ दशमलव ५ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ। 

एकीकृत शहरी विकास योजना बन्दै 

बैतडीका ३ नगरपालिका एकीकृत शहरी विकास योजना बन्ने भएको छ। सरकारले देशभरका १८५ नगरपालिकाको एकीकृत शहरी विकास योजना निर्माण गर्ने लक्ष्य राखेकामा बैतडीका तीन नगरपालिकाको योजना निर्माण हुने भएको हो। 
दशरथचन्द, मेलौली र पुरचौडी नगरपालिकाको एकीकृत शहरी विकास योजना अघि बढाउनका लागि प्रारम्भिक काम शुरु भएका छन्। शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा नगरपालिकाको एकीकृत शहरी विकास योजना बनाउन लागिएको हो।
नगरपालिकाको सामाजिक, आर्थिक, भौतिक, सुशासन, वातावरण, कृषि, पर्यटनलगायत नौ क्षेत्रको अध्ययन गरेर एकीकृत विकास योजना बनाइने ग्रिड गोसे÷राजदेवी इञ्जिनीयर जेभीका भूगोलविद् विष्णु अधिकारीले बताए। आफूहरुले दशरथचन्द नगरपालिका र पुरचौडी नगरपालिकाको योजना बनाउने जिम्मा पाएको छ। दुबै नगरपालिकामा प्रारम्भिक अवलोकन, तथ्यङ्क सङ्कलन र नक्साङ्कनको काम भइरहेको जनाएको छ। नगरपालिकालाई आगामी पाँच वर्ष, १० वर्ष र १५ वर्षमा कस्तो बनाउने भन्ने विषयमा योजना केन्द्रित हुनेछ। नगरपालिकाको समग्र विकासका लागि प्रत्येक नगरपालिका रु ३० करोड बढीका दुई योजनाको डिपीआर समेत निर्माण गरिने वातावरणविद् कुमोद लेखकले बताए। मेलौली नगरपालिकामा एकीकृत शहरी विकास योजना निर्माणका लागि परामर्शदाताको टोलीले प्रारम्भिक छलफल गरेको नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिए। रासस

 

कमेन्ट लोड गर्नुस