ओमिक्रोन फैलिन नदिन थप पूर्वतयारी गर्नूः महाशाखा
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोभिड–१९ को पछिल्लो भेरियन्ट ओमिक्रोन फैलिन नदिन पूर्वतयारीका साथ रहन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ। महाशाखाले आज एक सूचना जारी गर्दै ओमिक्रोन फैलिन नदिन सबै निकायले सतर्कता र पूर्वतयारीका साथ रहनुपर्ने जनाएको छ।
विगतमा जस्तै ‘केस’हरू बढ्न नदिन जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न र परीक्षणको दायरा बढाउन सूचनामा आग्रह गरिएको छ। त्यस्तै, सीमानाकामा प्रवेश गर्ने यात्रुहरूको प्रोटोकलानुसार व्यवस्थापन गर्न पनि महाशाखाले आग्रह गरेको छ।