सुदूर नेपाललाई विश्वसँग जोड्दै

अझै कार्यान्वयनमा गएनन् कैलालीमा विकासे योजना

२०७८ पुष १७, ०७:१३ कमल सावद

धनगढी : कैलालीका स्थानीय तहहरु योजना कार्यान्वयनको चरणमा अझै गएका छैनन्। आर्थिक वर्षको ६ महिना पुग्नै लाग्दा पनि जिल्लाका स्थानीय तहहरुले योजना कार्यान्वयनका लागि सम्झौता गर्न बाँकी रहेको हो। योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्नै बाँकी छ। 

लामो समयसम्म प्रमुख प्रशासकिय अधिकृतविहीन भएको गोदावरी नगरपालिकाले बल्ल उपभोक्ता समितिमार्फत योजना कार्यान्वयनका लागि सम्झौता गर्न थालेको छ। ठूला विकास निर्माणका योजनाको ठेक्का प्रक्रिया भने अगाडि बढेको छैन। वडास्तरका स–साना योजनाहरुको मात्र उपभोक्ता समितिसँग कार्यान्वयनका लागि सम्झौता थालिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज विष्टले बताए। उनले भने, ‘उपभोक्ता समितिहरु गठन हुँदैछन्। दैनिक योजना सम्झौताका लागि आउने गरेका छन्। गत वर्षको बाँकी भुक्तानी पनि दिइरहेका छौ। केही दिनमा ठेक्काका योजनाहरुको पनि सम्झौता गर्छाै।’

नगरपालिकाले गत आर्थिक वर्षमा निर्माण कम्पनीमार्फत कार्यान्वयन भएका योजनाहरुको पूर्ण भुक्तानी समेत गरेको छैन। स–साना योजना कार्यान्वयनका लागि उपभोक्ता समितिसँग सम्झौता थालेको गौरीगंगा नगरपालिकाले पनि ठूला योजना कार्यान्वयनको सूचना समेत सार्वजनिक गरेको छैन। नगरपालिकाले वडास्तरका झण्डै आधा योजना कार्यान्वयनका लागि सम्झौता गरेको दाबी गरेको छ। 

पाँच लाखभन्दा कम बजेट भएका योजनाहरु मात्र उपभोक्ता समितिलाई कार्यान्वयनका लागि दिइएको हो। पाँच लाखभन्दा माथिका योजना कार्यान्वयनका लागि ठेक्का गरिने बताइएको छ। तर ठेक्काको प्रक्रिया अझै सुरु गरिएको छैन। गौरीगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिश पन्तले उपभोक्ता समितिमार्फत योजना कार्यान्वयनका लागि सम्झौताको चरण सुरु भएको बताए।

उनले भने, ‘हाम्रो नगरपालिकामा उपभोक्तामार्फत पाँच लाखसम्मका योजना कार्यान्वयन गर्दैछौ। खानेपानीका योजनाहरु मात्र बढी बजेटका पनि उपभोक्ता समितिमार्फत कार्यान्वयन हुँदैछन्। ठेक्काका योजनाहरु भने अझै सम्झौता भएका छैनन्।’ 

स्थानीय तहका जनप्रतिनिधि राजनीतिक कार्यक्रममा व्यस्त छन् भने कतिपय स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत समेत नभएकाले योजना कार्यान्वयनमा ढिलाई भएको हो। धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले एक महिना अध्ययनमा लाग्ने बताए। ‘योजना कार्यान्वयन हुँदैछन्। अहिले मालाई सबै कुरा जानकारी छैन। अध्ययय गर्दै छु,’ उनले भने।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस