प्राविधिक सहायकको भरमा वडा कार्यालय
स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष भइसक्दा पनि कर्मचारी अभाव कायमै छ।
जिल्लाका १० स्थानीय तहका ४८ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन्। वडा सचिवमा नहुँदा पञ्जीकरणलगायतका काम प्रभावित हुने गरेको जनप्रतिनिधिले बताएका छन्। शिवनाथ गाउँपालिकाका छ वडामा सचिवको काम प्राविधिक सहायकले गरिरहेका गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिईन। उनले भनिन, “सचिवको अभावमा वडाले गर्नुपर्ने काममा बाधा पुगेको छ।”
आठ वडा रहेको सुर्नया गाउँपालिकाका तीन वडामा सचिव छैनन्। वडा नं १, ७ र ८ मा सचिव नहुँदा एक सचिवले दुई÷दुई वडामा काम गर्नुपरिरहेको छ। दुर्गम गाउँपालिकाको रुपमा रहेको सिगास गाउँपालिकाका सात वडा सचिवविहीन छन्। पाटन नगरपालिकाको वडा नं ७ र ८ मा सचिव छैनन् भने दशरथचन्द नगरपालिकाको वडा नं ६ र ११ मा सचिव छैनन्। यस्तै मेलौली नगरपालिकाका नौ वडामध्ये पाँचमा सचिव नभएको नगरपालिकाका उप प्रमुख राधा ओझाले बताईन। पञ्चेश्वर गाउँपालिकाका छ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन्। दश वडा रहेको पुर्चौँडी नगरपालिकामा एउटा वडाबाहेक अन्यमा सचिव छैनन्। दोगडाकेदार गाउँपालिकाका चार वडा सचिव विहीन छन्। कर्मचारी नहुँदा काम गर्न गाह्रो भएको सो गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए। यसैगरी डिलाशैनी गाउँपालिकाका सात वडामध्ये चारमा सचिव छैनन। जिल्लामा चार नगरपालिका र छ गाउँपालिकाका गरी ८४ वडा छन्। रासस