सुदूरपश्चिमलाई स्तब्ध पार्दै प्रदेश १ प्रधानमन्त्री कपको फाइनलमा
धनगढीः प्रदेश १ सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा पुगेको छ। घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ फाईनल पुगेको हो। यसअघि मेयरको सेमिफाईनलमा व्यहोरेको हारको बदला लिदैं प्रदेश १ फाईनल पुगेको छ।
सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले एक विकेट क्षतिमा भेट्टाएको छ। प्रदेश १ ले १६ दशमलब ५ ओभरमा विजय लक्ष्य पुरा गरेको हो। पहिलो विकेटका लागि ओपनरद्धय कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गर्दै सानदार जितको आधार खडा गरिन्। अन्तिम समयसम्म क्रिजमा टिकेकी कप्तान रुविनाले अविजित ३१ रन बनाईन्। कविता जोशीको बलमा बोल्ड भएकी काजलले टीमका लागि २८ रन बनाईन्। रुविनाले अप्सरी वेगमसँग पनि दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरिन्। अप्सरीले पनि अविजित ९ रन बनाईन्। सुदुरपश्चिमका लागि कविता जोशीले मात्रै एक विकेट लिईन्।
यसअघि सुदुरपश्चिमले टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले सामान्य योगफल मात्रै बनायो। ७ रनमा ३ विकेट गुमाएर धर्मराएको सुदुरपश्चिमले २० ओभरमा ७ विकेट क्षतिमा ८५ रन बनाएको थियो। सुदुरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७ रन बनाईन्। कप्तान रितु कनौजियाले २५ रन बनाईन्। त्यस्तै डल्ली भट्टले १२ रन बनाईन्। प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीय अलिशा खाडिया संगीता राई र ज्योती दनवारले समान एक विकेट लिईन्। खेलमा प्रदेश १ की कप्तान रुविना प्लेयर अफ द म्याच भईन्।