कैलालीमा घट्यो घर-जग्गा कारोबार
धनगढीः सुदूरपश्चिमको राजधानी कैलालीमा दैनिक सयौँको सङ्ख्यामा घर जग्गा धरौटी राख्दै ऋण लगानी हुँदै आएको थियो। धितोमा वाणिज्य बैँकहरुले सेवाग्राहीलाई ऋण दिदै आएका थिए। तर बैँकहरुमा नै नगद अभाव भएपछि जिल्लामा घर तथा जग्गा धरौटी राख्दै ऋण लिने क्रम शून्य जस्तै भएको छ।
बैँकहरुमा देखिएको तरलता अभावको प्रभाव घर जग्गाको कारोबारमा समेत देखिएको भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीले बताए। केसीले भने, ‘बैँकहरुमा तरलता अभाव देखिएको छ। जग्गा रोक्काको काम पनि अहिले शून्य छ। दैनिक सयौं घर–जग्गा रोक्काको काम हुँदै आएको थियो। अहिले छैन।’
वाणिज्य बैँकहरुले घर जग्गा धरौटीमा ऋण लगानी गर्दा मालपोत कार्यालयले रोक्का गर्नुपर्ने हुन्छ। बैँकले सेवाग्राहीलाई मालपोत कार्यालय पठाउदै आएका थिए। तर बैँकहरुले घर जग्गा धरौटीमा ऋण दिन बन्द गरेपछि मालपोत कार्यालयमा सेवाग्राही समेत कम भएका छन्। केसीले भने, ‘बैँकहरुले ऋण दिन बन्द गरेपछि जग्गाको कारोबार पनि रोकिएको छ। दसैं अगाडि धितोको कामका सेवाग्राहीको भिड थियो।’
बैँकहरुमा देखिएको तरलताको प्रभाव अन्य क्षेत्रसँगै घर जग्गाको कारोबारमा समेत देखिएको हो। सरकारी योजनाको न्यून खर्च र वैदेशिक रेमिटान्समा औशतभन्दा कम आय भएपछि बैँकहरुमा नगद सकिएको हो। बैँकर्स क्लब धनगढीका पूर्वअध्यक्ष तथा एनआइसी एसीया बैँक सुदूरपश्चिम प्रमुख टेकराज भट्टले बैँकहरुमा कर्जाको माग अनुसार निक्षेप कम देखिएको बताए।
उनले भने, ‘सरकारी रकम खर्च भएको छैन। वैदेशिक रेमिटान्सको अनुपात कम छ। बैँकबाट ऋण लिएर घर–जग्गा खरिद गर्ने गरिएको छ। तर बैँकले ऋण दिन बन्द गरेपछि प्रभाव परेको देखिन्छ।’ घर जग्गाको कारोबार रोकिएसँगै अन्य क्षेत्रमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ। कृषि व्यवसाय, सिमेन्ट तथा इट्टा उद्योग र श्रमिक वर्गमा समेत प्रभाव पर्ने देखिएको हो।