सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ठूला योजनामा सरकारी सुस्तता, प्रगति निराशाजनक

२०७८ पुष ९, ०७:४३ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी तथा कञ्चनपुरको भीमदत्त र कृष्णपुर नगरपालिकामा सञ्चालनमा रहेको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइको चालू आर्थिक वर्षमा दुई अर्ब ३४ करोड ६७ लाख पुँजीगत बजेट छ।

पुस पहिलो सातासम्म १४ करोड २४ लाख ४८ हजार मात्र खर्च भएको छ। क्षेत्रीय सहरी विकास आयोजनाले ५ महिनामा जम्मा ६ प्रतिशत मात्र बजेट खर्च गरेको हो। क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका प्रमुख प्रविन श्रेष्ठले भने, ‘अहिलेको प्रगति पहिलो चौमासिकको हो। अहिले काम हुँदैछ।’

क्षेत्रीय सहरी विकाससँगै संघीय आयोजना कार्यान्वयन इकाइको पनि खर्च प्रगति न्यून छ। ७७ करोड १७ लाख विकास बजेर रहेको आयोजनाको पुस पहिलो सातासम्म ६ करोड १४ लाख मात्र खर्च भएको हो। नयाँ ठेक्काका योजनाहरु कार्यान्वयनको चरणमा नगएकाले खर्चको प्रगतिसमेत न्यून रहेको आयोजना कार्यान्वयन इकाइको दाबी छ। संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख श्रेष्ठले ८ प्रतिशत संघीय आयोजनाको प्रगति रहेको बताए। उनले भने, ‘सबै कार्यक्रमहरु नयाँ छन्। ६र७ वटा मात्र पुराना छन्। नयाँ कार्यक्रममहरु कार्यान्वयनको चरणमा बल्ल गएका छन्।’

मोहनापुल–अत्तरिया ६ लेन सडकको चालू आर्थिक वर्षमा २५ करोड पुँजीगत बजेट छ। पुस पहिलो सातासम्म दुई करोड ९४ लाख मात्र खर्च भएको छ। गत आर्थिक वर्षमा मोहनापुल–अत्तरिया ६ लेन सडकको खर्चको प्रगति राम्रो हुने गरेको भए पनि चालू आर्थिक वर्षमा कम देखिएको हो।  मोहनापुल–अत्तरिया ६ लेन सडक योजना कार्यालयका निमित्त प्रमुख सिद्धराज पाण्डेले पनि प्रगति निराशाजनक रहेको स्वीकार गरे।

चालू आर्थिक वर्षमा रानीजमरा कुलरीया सिँचाई आयोजनाको विकास बजेट दुई अर्ब ३० करोड ३७ लाख रहेकोमा ३९ करोड ४९ लाख मात्र खर्च भएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ८९ करोड ५७ लाख बजेट रहेकोमा पुससम्म ६ करोड ६८ लाख खर्च भएको छ। राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको ३५ करोड ४४ लाख विकास बजेट रहेकोमा एक करोड ४९ लाख ५९ हजार मात्र खर्च भएको छ।

सहजपुर–बोगटान–दीपायल सडकको विकास बजेटको खर्चको प्रगति पनि न्यून छ। उक्त सडकको एक अर्ब ५५ करोड पुँजीगत बजेट रहेकोमा एक करोड ९६ लाख ४३ हजार मात्र खर्च भएको हो। कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका सूचना अधिकारी शिवराज ढुंगानाले चालू आर्थिक वर्षको ७ अर्ब ४० करोड ३५ लाख चालू र ९५ करोड ५५ लाख पूँजीगत बजेट खर्च भएको बताए।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस