सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताः प्रदेश नम्बर २ को पहिलो जित

२०७८ पुष ७, ०४:५२ खबर संवाददाता

धनगढी: धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत बुधबार भएको दोस्रो खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई हराएको छ। पहिलो खेलमा एपीएफसँग हार व्यहोरेको प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राखेको हो। लगातार दुई हारसँगै गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ।

टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकी प्रदेश ३९ रनको झिनो योगफलमा समेटियो। १७ दशमलव १ ओभरमा सबै विकेट गुमाएको गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १५ रन बनाइन्। अन्य खेलाडीले दोहोरो रन अंक छुन नपाउँदा गण्डकीले १३ रन अतिरिक्त पाएको थियो। प्रदेश नम्बर २ का लागि सन्तोषी चौधरीले ३ विकेट लिइन्। त्यस्तै अनुराधा चौधरीले २, रोजी कडारी र सरस्वती चौधरीले समान एक विकेट लिइन्। 

४० रनको विजय लक्ष्य प्रदेश नम्बर २ ले ३ विकेट क्षतिमा भेट्टायो। १० दशमलव ३ ओभरमा जित हात पार्नका लागि ओपनरद्धय साना प्रविन र अनुराधा चौधरीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरिन्। सानाले १३ रन बनाउँदा अनुराधाले १२ रन बनाइन्। गण्डकी प्रदेशका लागि शिला क्षेत्रीले एक विकेट लिइन्। खेलमा प्रदेश नम्बर २ की सरस्वती चौधरी प्लेयर अफ द म्याच भइन्। 

प्रतियोगिता अन्तर्गत बिहिवार लिग चरणका अन्तिम दुई खेल हुनेछन्। लिग चरणका दुवै खेल समूह ‘बी’ का रहेका छन्। पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश २ खेल्नेछन्। अर्को खेलमा गण्डकी प्रदेश र एपीएफ खेल्नेछन्। 
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ।  प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन्।

कमेन्ट लोड गर्नुस