सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला प्रशासन कार्यालय बाजुराले गाउँमै पुगेर नागरिकताका लागि सहजीकरण गर्दै

२०७८ पुष ५, ०५:५५ रासस

मार्तडी: बाजुरा जिल्ला प्रशासन कार्यालयले यहाँका नौवटै पालिकाका वडामा पुगेर नागरिकताको प्रमाणपत्रका लागि लगत सङ्कलन गर्न थालेको छ। अर्थोपार्जनमा कमजोर भएका, अपाङ्गता र अशक्त नागरिकका लागि आफन्तबाट गाउँमै सनाखत गराउँदै लगत सङ्कलन गरी जिप्रकाबाट पछि वितरण गर्नेगरी नागरिकता सहायता कार्यक्रम सञ्चालन गरिएको प्रजिअ गोपालकुमार अधिकारीले बताए। 

दुर्गम तथा हिमाली  पालिकाका विकट वडाका नागरिकलाई गाउँमै सहजरुपमा नागरिकता प्रदान गर्नका लागि प्रशासनले वडा कार्यालयको सिफारिस र  आफन्तको सनाखतअनुसार विवरण  सङ्कलन गर्न थालिएकोे उहाँको भनाइ थियो। अतिविपन्न र अपाङ्गता भएका र अशक्त एकल महिलालाई जिल्लामा आएर नागरिकता लिन सकस हुने भएकाले पूर्वी र उत्तरी भेगका चार पालिकामा कर्मचारी खटाएर विवरण सङ्कलन गर्दै जिल्लामा ल्याउने गरिएको प्रजिअ अधिकारीले बताए। 

यहाँको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकामा प्रशासनको टोलीले नागरिकता सहायतामा सहजीकरण गर्दै आएको छ। पालिकाका वडा कार्यालयले सिफारिस गरेका नागरिकको आवश्यक प्रमाण अपुग भएमा प्रमाण जुटाउनका लागि सहजीकरण गर्दै उक्त विवरण सङ्कलन गरिएको हो। 

बिहीबार र शुक्रबार जगन्नाथ गाउँपालिकाको जुड्डीमा १९० जनाको र हिमाली गाउँपालिकामा पनि शनिबार र आइतबार गरी २७५ जनाको विवरण  सङ्कलन गरिएको छ। गाउँपालिकामा रहेका नागरिकको नागरिकताका लागि आश्वयक प्रमाण जुटाएर उनीहरुलाई एक साताभित्र नागरिकता दिने गरी विवरण सङ्कलन गरिएको प्रजिअ अधिकारीले बताए। 
 

कमेन्ट लोड गर्नुस