कैलालीका स्थानीय तहको प्रगति न्यून, १० प्रतिशत पुँजीगत खर्च पनि भएन
धनगढीः कैलालीको गोदावरी नगरपालिकाको ५ महिनाको पुँजीगत खर्च २ प्रतिशत मात्र छ। १३ वटा स्थानीय तह रहेको जिल्लामा गोदावरी नगरपालिकाले सबैभन्दा कम प्रगति गरेको हो। ५० करोड ८७ लाख पुँजीगत बजेट रहेकोमा नगरपालिकाको दुई करोड चार लाख मात्र खर्च भएको छ।
चालूतर्फ ६७ करोड ८३ लाख बजेट रहेकोमा १४ करोड ६३ लाख खर्च भएको छ। जुन २० प्रतिशत बढी हुन्छ। प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टका अनुसार लामो समयसम्म नगरपालिका प्रमुख प्रशासकिय अधिकृतविहीन हुँदा विकास बजेट खर्च नभएको हो। ‘प्रमुख प्रशासकिय अधिकृत नभएकाले खर्च कम भएको हो,’ उनले भने, ‘केही दिन अगाडि मात्रै म उपस्थित भएको छु। अब योजना सम्झौताको चरणमा गएका छन्।’
गोदावरी नगरपालिकापछि जिल्लाको जानकी गाउँपालिकाको प्रगति न्यून छ। चालू आर्थिक वर्षको ५ महिनामा गाउँपालिकाले जम्मा बजेटको १६ प्रतिशत खर्च गरेको छ। गाउँपालिकाको ३५ करोड ३८ लाख पुँजीगत बजेट रहेकोमा दुई करोड २१ लाख खर्च भएको छ। चालू शिर्षकमा भने झण्डै ११ करोड खर्च भएको छ।
जोशीपुर गाउँपालिकाको खर्च पनि न्यून छ। गाउँपालिकाको कुल बजेट ६५ करोड ७३ लाख ४७ हजार रहेकोमा ११ करोड तीन लाख ३२ हजार मात्र खर्च भएको हो। लेखा अधिकृत टिपेश तिमिल्सिनाका अनुसार भौतिक संरचना निर्माणका योजना कार्यान्वयनका लागि सम्झौतासमेत भएको छैन।
धनगढी उपमहानगरापालिकाको खर्चको प्रगति पनि न्यून छ। धनगढी उपमहानगरपालिकाको जम्मा बजेटको १७ प्रतिशत खर्च भएको छ। उपमहानगरपालिकाको एक अर्ब ८१ करोड २८ लाख बजेट रहेकोमा ३१ करोड ४१ लाख खर्च भएको हो। उपमहानगरको ७८ करोड ५३ लाख १५ हजार पुँजीगत बजेट रहेकोमा ६ करोड १० हजार मात्र खर्च भएको छ। जुन साढे ७ प्रतिशत मात्र हुन्छ।
जिल्लाका अन्य स्थानीय तहहरुको पनि खर्चको प्रगति न्यून छ। कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका सूचना अधिकारी शिवराज ढुंगानाले गत वर्ष र चालू आर्थिक वर्षको खर्चको प्रगतिमा धेरै फरक नरहेको बताए। उनले भने, ‘गत वर्ष मंसिरसम्म २० प्रतिशतको हाराहारीमा खर्च भएको थियो। यो वर्ष जम्मा बजेटको १९ प्रतिशत पुगेको छ। पुँजीगत खर्च भने न्यून छ।’
गौरीगंगा नगरपालिकाको १९ प्रतिशत, घोडाघोडी नगरपालिकाको २१, टीकापुर नगरपालिकाको २४, भजनी नगरपालिकाको २१, लम्कीचुहा नगरपालिकाको २०, कैलारी गाउँपालिकाको १९, चुरे गाउँपालिकाको १८, बर्दागोरिया गाउँपालिकाको १९ र मोहन्याल गाउँपालिकाको १९ प्रतिशत बजेट खर्च भएको छ।
चालू आर्थिक वर्षमा पुँजीगततर्फको बजेट खर्चको अवस्था सबैभन्दा बढी निराशाजनक छ। १३ वटै स्थानीय तहको पुँजीगत बजेट चार अर्ब ४६ करोड १४ लाख रहेकोमा ४२ करोड ९१ लाख ७५ हजार मात्र खर्च भएको छ। जुन साढे ९ प्रतिशत पनि पुग्दैन।