सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्याङकरका लागि पार्किङस्थल तयार, याे हप्ताभित्र ६ लेन खाली हुने दाबी

२०७८ मंसिर २९, ०६:३२ कमल सावद

धनगढीः नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले एक लाख ५० हजार मासिक भाडा तिर्ने गरी खाद्य कम्पनीको जग्गा भाडामा लिएको थियो। त्यहाँ भौतिक संरचना निर्माणमा ढिलाइ भएको भन्दै ट्याङकर सडकमै पार्किङ भइरहेका छन्। तर नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामकुमार न्यौपानेले भौतिक संरचना निर्माणको काम पूरा भएको बताए। उनले भने, ‘विद्युत जडान र शौचालय निर्माणको काम पूरा नभएकाले ट्याङ्कर राखेका थिएनौ। निर्माणको काम पूरा भएको छ। त्यो ठाउँमा सबै ट्याङ्करका लागि ठाउँ हुने होइन। अगाडिको भाग पनि पुर्नुछ।’

धनगढी उपमहानगरपालिका–३ स्थित नेश्नल ट्रेडिङ रहेको खाद्य कम्पनीको जग्गामा पार्किङ स्थल निर्माणको काम लगभग सकिएको निगमले जनाएको छ। यसअघि पार्किङस्थलमा ग्राभेल मिलाउन रोलर नपाएको भन्दै काम रोकिएको थियो। अहिले शौचालय निर्माण तथा विद्युत जडानमा समय लागेको र यसै सातदेखि पार्किङस्थलमा ट्याङकर राखिने निगमको दाबी छ। ‘भौतिक संरचना निर्माणको काम पूरा भएको छ। भोलिदेखि पार्किङ सुरु गर्छाै’, प्रमुख न्यौपानेले भने, ‘भारत गएका गाडी भोलिबाटै राख्छौ। ट्राफिक प्रहरीलाई पनि पत्राचार गर्छौ।’

ट्याङकर हटाएपछि सडकमा हुने पार्किङ पनि हटाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंहले बताए। उनले भने, ‘ट्याङ्कर सडकमा पार्किङ हुँदै आएकाले अन्य सवारी हटाउन पनि समस्या भएको थियो। ट्याङ्कर नहटाउने हामीलाई मात्र सडकमा नराख भन्ने भन्दै आएका थिए। भोलिबाट ट्याङ्कर पार्किङको समस्या समाधान हुन्छ। चौराहाका डिभाइडर पनि हटाउन लगाएको छु। सडकमा हुने पार्किङ सबै हटाउँछौ।’

यसअघि नेपाल आयल निगम धनगढीले ट्याङकर पार्किङका लागि भन्दै चटकपुरमा २० हजार प्रति महिना भाडा तिर्ने गरी जग्गा भाडामा लिएको थियो। तर स्थानीयको विरोधपछि उक्त क्षेत्रमा ट्याङकर पार्किङ गरिएन। चटकपुरमा ट्याङकर पार्किङ गर्न असफल भएको आयल निगमले ट्राफिक चौराहा नजिकको जमिनमा पार्किङ स्थल बनाएको हो। 

नेपाल आयल निगम, प्रादेशिक कार्यालय धनगढीका लागि ८० ट्याङकरले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका छन्। ती ट्याङकर धनगढीका सडकमा पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको थियो। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस