सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका बैंकहरुमा तलरता अभाव, कर्जा प्रवाह बन्द

२०७८ मंसिर २८, ०६:३२ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंक लिमिटेड, सुदूरपश्चिमबीच गत वर्ष एक प्रतिशत ब्याजमा किसानलाई ऋण दिने सम्झौता भएको थियो। एक प्रतिशत किसान र बाँकी ब्याज प्रदेश सरकारले तिर्ने सम्झौतामा उल्लेख गरिएको छ। बढीमा ८ प्रतिशतसम्म ब्याज प्रदेश सरकारले तिर्ने सम्झौतामा भनिएको छ। 

तर कृषि विकास बैंक लिमिटेडमा तरलता अभाव भएपछि किसानले सहुलियतमा ऋण पाएका छैनन्। तलरता अभाव भएकै कारण ऋण प्रवाहमा समस्या भइरहेको कृषि विकास बैंक लिमिटेडका प्रवक्ता हिमालय पाण्डेले बताए। ‘बजारमा पैसाको अभाव छ। पैसा भए पो दिने हो, मेन्टेन गर्न ठिक्क हुँदैछ। बजार सुधार भएपछि चालु हुन्छ’, उनले भने। नेपालको रकम बाहिर गएकाले बैंकहरुमा रकम अभाव भएको पाण्डेले बताए। मालसामानको आयात बढी भएकाले नेपाली रुपैयाँ बाहिर गएको दाबी उनको छ। 

जमिन, घर तथा सुन धरौटीमा राखेर ऋण दिँदै आएको राष्ट्रिय वाणिज्य बैंकले पनि ग्राहकलाई ऋण दिन बन्द गरेको छ। बैंकले सूचना नै सार्वजनिक गरेर अनिश्चितकालका  लागि ऋण लगानी गर्न बन्द गरेको हो।  बैंकमा रहेको रकम सकिएको र बाहिरबाट बैंकमा रकम नआएपछि ऋण लगानी गर्न बन्द गरिएको हो।

नेपाल राष्ट्र बैंकले कुनै निर्देशन नदिएको भए पनि बैंकहरुमा निक्षेप घटेकाले कर्जा प्रवाह बन्द गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए।  ‘नेपाल राष्ट्र बैंकबाट कुनै निर्देशन छैन। बैंकहरुले आफूसँग भएको रकम भन्दा बढी निक्षेप प्रवाह गरिसकेका छन्’ प्रवक्ता ढकालले दिनेशखबरसँग भने, ‘स्रोतको व्यवस्थापन गर्दै  बिस्तारै कर्जा फेरि प्रवाह गर्छन्। उहाँहरुले आफ्नो स्रोत व्यवस्थापन गर्ने, काम गर्ने हो। राष्ट्र बैंकबाट कुनै निर्देशन हुँदैन।’ 

झण्डै एक महिनादेखि निक्षेप संकलन घट्दै गएपछि बैंकहरुले कर्जा प्रवाह घटाउदै लगेका छन्। सरकारी रकम खर्च नहुँदा र कोरोना महामारीले विदेशबाट आउने रेमिटेन्स घट्दा निक्षेप घटेको विज्ञहरुले बताएका छन्। 

यता बैंकहरुले नेपाल सरकारले निक्षेप सुधारको योजना ल्याउन नसकेको आरोप लगाएका छन्। बैंकहरूको अपेक्षाविपरीत दशैं सकिएपछि वाणिज्य बैंकहरूको निक्षेप अनपेक्षित रूपमा घटेको छ। चाडपर्वमा सर्वसाधारणले खर्चको जोहो गर्न बैंकबाट पैसा झिक्ने गर्छन्। सोही कारणले कुल निक्षेप नै घटेको छ। एकातर्फ राज्यकोषको रकम खर्च भएको छैन भने अर्कोतर्फ कोरोना महामारीका कारण विदेशबाट आउने रेमिट्यानसमा ५० प्रतिशतभन्दा बढीले कटौती भएको छ। जसकाकारण नेपालका वाणिज्य बैंकहरुको निक्षेप गत साता मात्र पाँच अर्बले घटेको छ। बैंकहरुको पुसमा अझै स्रोत सङ्कलन कम हुने अनुमान राष्ट्र बैंकको छ। 

२०७८ असारसम्म सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३ सय १७, विकास बैंकका ४६, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४ सय ८ गरी जम्मा ७ सय ७७ शाखा सञ्चालनमा छन्। यी मध्ये कैलाली जिल्लामा सबैभन्दा बढी ३ सय ४४ र बाजुरा जिल्लामा सबैभन्दा कम २६ शाखा सञ्चालनमा रहेका छन्।


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस