विषादी अनाधिकृत प्रयोगकर्तालाई रु डेढ लाखसम्म जरिवाना
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अवैध रुपमा प्रयोग गरिने विषादीको प्रयोग र चोर बाटाबाट विषादी ल्याउने कार्यलाई रोक्न आवश्यक रहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ प्रस्तुत गर्दै उहाँले विषादीको अनियन्त्रित रुपमा हुँदै आएको प्रयोगलाई रोक्न विद्यमान कानूनलाई संशोधन गर्न विधेयक ल्याइएको जानकारी दिएकाछन्।
विषादी अनाधिकृत प्रयोग गर्नेलाई रु ५० हजारदेखि एकलाख ५० हजारसम्म जरिवाना गर्न सकिने विधेयकमा व्यवस्था गरिएको मन्त्री खनालले बताए। यसअघि बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो।
प्रतिनिधिसभाको आजैको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत ग¥यो। यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावमाथि भएको सैद्धान्तिक छलफल छ सदस्यले भाग लिनुभएको थियो। छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले कतिपय ऐनलाई सङ्घीयता र संविधानअनुरुप बनाउनु पर्ने भएको हुँदा त्यसलाई व्यवस्थापन गर्न विधेयक ल्याइएको जानकारी दिए। प्रतिनिधिसभाको अर्को बैठक यही पुस २२ गते अपराह्न १ बजे बस्नेछ। रासस