ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गर्ने क्यानको तयारी
काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि कारबाही गर्ने मुडमा देखिएको छ। ‘सेन्ट्रल कन्ट्रयाक्ट’का लागि क्यानले गरेको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै कप्तान मल्लसहित चार खेलाडीले सार्वजनिक रूपमा वक्तव्यबाजी गरेको भन्दै क्यानले स्पष्टीकरण सोधेको थियो।
कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले क्यानकै गल्ती देखाउँदै पहिलोपटक स्पष्टीकरण बुझाएका थिए। उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै क्यानले दोस्रोपटक स्पष्टीकरण सोधेको थियो। दोस्रो स्पष्टीकरणमा पनि क्यानले चित्त बुझाउने अवस्था नरहेको निष्कर्षसहित क्यानको अनुशासन छानविन समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ। “खेलाडीहरूले दोस्रोपटक पठाएको स्पष्टीकरण पनि उस्तै छ। अब हामी तेस्रोपटक स्पष्टीकरण सोध्ने छैनौँ। प्रतिवेदन तयार पारेर क्यानलाई साँझसम्म बुझाउने तयारी छ। त्यसपछि क्यानले कारबाहीको प्रक्रिया थाल्नेछ,” कार्यवाहक सचिव मल्लले भने।
‘सेन्ट्रल कन्ट्रयाक्ट’का लागि क्यानले गरेको वर्गीकरणमा असन्तुष्टि जनाउँदै खेलाडीले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। त्यसपछि क्यान र खेलाडीबीच मतभेद बढेको थियो। चार खेलाडीलाई स्पष्टीकरण सोधेपछि राष्ट्रिय टोलीमा रहेका खेलाडीहरूले क्यानलाई १९ बुँदे ज्ञापनपत्र बुझाएका थिए। क्यान पदाधिकारीले खेलाडीको ज्ञापनपत्रलाई स्पष्टीकरणको ‘काउन्टर’का रूपमा बुझेका छन्। यद्यपि, त्यसबारे खेलाडी र क्यान पदाधिकारीबीच एक चरण छलफल भइसकेको छ।