पीएम कप महिला क्रिकेटः बैतडीको उत्कृष्ट सुरुवात, डोटी पराजित
विनोद सिंह विष्ट, बैतडी: प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट अन्तरगत बैतडीले उत्कृष्ट सुुरुवात गरेको छ। शनिवार सम्पन्न खेलमा बैतडीले डोटीमाथि १ सय ७९ रनको जित निकाल्दै प्रतियोगिताका उत्कृष्ट सुरुवात गरेको हो।
बैतडीले दिएको २ सय ५ रनको विशाल लक्ष्य पन्छाएको डोटीको टोली १२.१ ओभरमा २५ रनमा अलआउट भयो। उसका लागि कुनै पनि ब्याट्सओमनले दोहोरो अंकको रन बनाउन सकेनन्। अनिषा शाहले सर्वाधिक ९ रन बनाइन्।
डोटी पारी ध्वस्त पार्ने क्रममा बैतडीकी कप्तान रितु कनौजियाले ४, पूजा कार्कीले ३ विकेट हात पारेका स्कोरर नुरैन अन्सारीले जानकारी दिए।
त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको बैतडीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय ४ रन जोड्यो। विशाल लक्ष्य प्रस्तुत गर्ने क्रममा बैतडीका संगिता मौनी र भावना जोशीले अर्धसतकीय पारी खेले। संगिताले ५६ रन जोडिन् भने भावना ६१ रनमा नछआउट रहिन्। डोटीकी रजनी केसी र करिश्मा खड्काले एक/एक विकेट हात पारिन्। आजदेखि शुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका टोली सहभागी रहेका छन्।
प्रदेशस्तरिय छनौट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको महिला राष्ट्रिय टोली बनाइनेछ। उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले बताए। गत वर्षको छनौट प्रतियोगितामा कैलालीलाई हराउदै बैतडी च्याम्पिएन भएको थियो। यस वर्ष पनि उपाधि हात पार्ने लक्ष्य रहेको बैतडी टिमका व्यवस्थापक उत्तम चन्द(दिनेश)ले बताए।
नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी पुस ३ गतेदेखि धनगढीमा हँुदैछ।