सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको पुइलेकमा विमानस्थलको धावनमार्गका लागि जग्गा अपुग

२०७८ मंसिर २५, ०६:०० कमल सावद

धनगढीः विमानस्थल निर्माणको विस्तृत योजना प्रतिवेदन (डिपीआर) निर्माण गर्न परामर्शदाता कम्पनी कात्तिक अन्तिम साता डडेल्धुरा पुगेको थियो। २ दिनसम्म जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर १ पुइलेकमा विज्ञहरुको टोली बस्यो। तर १ हजार ५ सय मिटर लम्बाइको धावन मार्ग निर्माणका लागि भने जग्गा अभाव हुने देखिएको छ। विमानस्थल निर्माणका लागि १ हजार ५ सय मिटरको धावनमार्ग आवश्यक हुने भए पनि ९ सय मिटर मात्रै जग्गा रहेको कम्पनीको तर्क छ। धावनमार्गको लम्बाई कम हुने देखिएपछि विज्ञहरुको समूह विकल्पको खोजीमा छ।

परामर्शदाता कम्पनी आइएफआइका प्रमुख सन्तकुमार श्रेष्ठले अन्तिम डिपीआर तयार नभएको बताए। उनले भने, ‘६/७ जना थियौ। सबैको क्षेत्र फरक–फरक थियो। डिपीआर चाँडै आउँछ। जहाँसम्म लाग्छ, फिजिबल हुन्छ।’ उनीहरुले केही दिनमा विस्तृत योजनाको ड्राफ्ट प्रतिवेदन बुझाउने तयारी थालेका छन्।। ‘पहाडी जिल्लामा रनवेको समस्या हुन्छ। ९ सय लम्बाई आउदैछ। १५ सय चाहिने हो। लगभग आउछ होला।  विज्ञहरु हेर्दै छन्।’ श्रेष्ठले भने।

नेपाल नागरिक उड्यन प्राधिकरण र परामर्शदाता कम्पनी आइएफआइबीच डिपीआर निर्माणका लागि सम्झौता भएको थियो। उनीहरुबीचको सम्झौताको रकम भने खुलेको छैन। ३ महिनामा विस्तृत योजना प्रतिवेदन निर्माणको काम पूरा गर्ने परामर्शदाता कम्पनीको दाबी छ। तर वातावरणीय प्रभाव मूल्यांकन लगायतको काम भने डिपीआर स्वीकृत भएपछि मात्र हुनेछ। 

अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले लागत निर्माणको चरणमा रहेको बताए।  प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराका र पर्यटनमन्त्री प्रेम आले डोटीका रहेकाले विमानस्थल निर्माणको चरणमा जाने विश्वास गरिएको उनले बताए। ‘पर्यटनमन्त्री यतैका छन्। प्रधानमन्त्रीले पनि जोड लगाए भइहाल्छ। आसा छ, विमानस्थल निर्माणको चरणमा जान्छ’ उनले भने।

डडेल्धुरामा वर्षाैदेखि विमालस्थल निर्माणका लागि माग हुँदै आएको छ। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस