सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दीपायल द्रुतमार्गको कैलाली खण्डमा डिजाइनमै त्रुटि

२०७८ मंसिर २५, ०८:०० कमल सावद

धनगढीः धनगढी–दीपायल द्रुतमार्गको कैलाली खण्डमा नाली निर्माणको कार्य जारी छ। धनगढीको हसनपुर पिपलचौतारादेखि १३ दशमलव ४ किलोमिटरमा बस्ती तथा बजार क्षेत्रमा नाली र होचो क्षेत्रमा वाल निर्माणको काम भइरहेको हो। 

तर गत जेठ २५ गते ठेक्का सम्झौता गरिएको सडकको डिजाइनमा नै त्रुटि देखिएको छ। सडकमा रहेका पुल, कल्भर्ट तथा शाखा सडकको हकमा के हुने भन्ने विषय डिजाइनमा समावेश नभएको हो। निर्माणको जिम्मा पाएको खड्का–कृष्ण–नारायण–बंलामुखी जेभीका इन्जिनियर सचिन थापाले शाखा सडकको निकासबारे डिजाइनमा उल्लेख नभएको बताए।

उनका अनुसार सडकको स्याउले बजार क्षेत्रमा नाली निर्माणको काम लगभग पूरा भएको छ। तर शाखा सडक भएका क्षेत्रमा नाली निर्माणको काम छोडिएको छ। उक्त ठाउँमा ह्यूम्पाइप वा कल्भर्ट के राख्ने भन्नेबारे अन्योल छ। शाखा सडकमा देखिएको अन्योलको टुङ्गो नलागेकाले धेरै ठाउँमा सडक नै बन्द हुने देखिएको छ। उनले भने, ‘डिजाइनमा छुटेको हो। हामीले ह्यूम्पाइप भएका ठाउँमा फेरि राख्छौ। शाखा सडक बन्द हुँदैन होला।’ 

सडकमा रहेका कल्भर्ट पुराना र जिर्ण भए पनि नयाँ निर्माणको कुनै टुङ्गो नलागेको हो। धनगढी–दीपालय द्रुतमार्ग योजना कार्यालयका पूर्व कार्यालय प्रमुख इन्जिनियर खगेन्द्र शाहीले कल्भर्ट र पुलको कुनै डिजाइन नभएको बताए। उनले भने, ‘एक ठाउँमा मिनि पुल निर्माण गर्नुपर्ने छ। कल्भर्टहरु पनि छन्। पुराना कल्भर्ट चौडाई गर्नुपर्ने पनि छ।’

धनगढी–स्याउले सडकको कालोपत्रेका लागि भ्याटसहित १८ करोड ५१ लाख ९० हजारमा खड्का–कृष्ण–नारायण–बंलामुखी जेभीसँग सम्झौता भएको थियो। सडकको चौडाइ ५ मिटर मात्र हुने गरी ठेक्का सम्झौता भएकोमा स्थानीयको बिरोधपछि ७ मिटरको बनाउन प्रस्ताव गरिएको छ। योजना कार्यालय अहिले प्रमुखविहीन छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस