सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी नमुना प्राविधिक माविमा विद्यार्थी भर्नामा मनोमानी

२०७८ मंसिर २४, १०:४२ कमल सावद

धनगढी : कैलालीको धनगढी नमुना प्राविधिक माध्यामिक विद्यालयमा अध्यापन गराउदै आएका शिक्षक भुवन जोशीले मंगलबार राजीनामा दिए। विद्यालयमा भर्ना गरिएका नयाँ विद्यार्थीको भर्ना प्रक्रियामा असन्तुष्टि जनाउदै उनले राजीनामा दिएका हुन्। 

कक्षा ११ मा ३ जना विद्यार्थी प्रधानाध्यापकले आफू अनुकुलको निर्णय गर्दै भर्ना गरेको आरोप उनको छ। विद्यालयमा खाली रहेको कोटाको जानकारी समेत नदिएर सोझै विद्यार्थी भर्ना गरिएको उनले बताएका छन्। ‘विद्यालयमा पाँच वटा कोटा खाली थियो,’ उनले भने, ‘म कक्षा १२ मा पढाएर घर गए। विद्यार्थी भर्ना गरिएको रहेछ। मनोमानी विद्यार्थी भर्ना गरिएको रहेछ।’

विद्यालयमा ९ देखि १२ कक्षासम्म प्राविधिक तर्फको सिभिल ओभरसियरको अध्ययन हुँदै आएको छ। एक कक्षामा ४८ जनाको कोटा रहेकोमा अध्ययनका लागि विद्यार्थीलाई कुनै शुल्क लाग्दैन्। विद्यालयले नै प्रयोगात्मक गराउन प्रति महिना एक हजारका दरले शुल्क विद्यार्थीलाई दिदै आएको छ।

निःशुल्क सिभिल ओभरसियर अध्ययन गर्न पाउने भएपछि विद्यार्थी भर्नामा नै शिक्षकहरुबीच मनमुटाउ हुने गरेको हो। शिक्षक जोशीले भने, ‘तपाई करारको शिक्षक हो। बढी जान्न नखोज्नुहोस। चाहे भने निकाल्न सक्छु भनेर धम्की दिइएको थियो,’ उनले भने। 

विद्यालयले कक्षा ९ मा भर्ना गरेका ४८ जनामध्ये कसैले विद्यालय छोडेमा खाली ठाउँमा नयाँ विद्यार्थी भर्ना गर्दै आएको छ। चालू शैक्षिक सत्रमा तीन जना विद्यार्थीले विद्यालय छोडेका छन् भने अझै ५ जना विद्यार्थी अनुपस्थित छन्। खाली रहेका तीन जना विद्यार्थीको ग्रेडका आधारमा भर्ना लिइएको दाबी गरिएको छ।

उक्त बिषयमा नै आफू र शिक्षक जोशीबीच मदभेद भएको प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले बताए। उनले भने, ‘जीपीएका आधारमा विद्यार्थी भर्ना गरेका हौ। सिटीइभीटीले पनि सोही गरेको छ।’ 

०७४ सालदेखि सुरु भएको सिभिल ओभरसियरका विद्यार्थीहरुले ५ सय प्रयोगशालाको शुल्क मात्र तिरे पुग्छ। अन्य खर्च नेपाल सरकारको शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र अन्तरगतको प्राविधिक महाशाखाले दिदै आएको छ। तर विद्यालयले भने विद्यार्थी भर्ना गर्दा बद्मासी गर्न थालेको आरोप लागेको हो। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस