धनगढी–अत्तरिया ६ लेन सडकमा मनहरा पुलको निर्माण सुरु भएन, सुनिखोला पुलको काम अलपत्र
धनगढीः मोहनापुल–अत्तरिया ६ लेन सडकमा पर्ने सुनिखोला पुल निर्माणका लागि २०७७ माघ २६ मा सम्झौता भएको थियो। राजेन्द्र निर्माण सेवा र योजना कार्यालयबीच तीन करोड ३७ लाख ८९ हजार पाँच सय ५६ रुपैयाँमा २० महिनामा काम पूरा गर्न सम्झौता भएको थियो।
२४ मिटरको उक्त पुल निर्माणको काम सुरु भए पनि पुलको बेइरिङको डिजाइन नभएकाले काम अलपत्र छ। उक्त पुलको फाउण्डेशनको काम भने पूरा भएको राजेन्द्र निर्माण सेवाका कार्यकारी निर्देशक रोशन भट्टले बताए।
उनले भने, ‘पुलको फाउण्डेशनको काम सकिएको छ। बेइरिङको स्वीकृती पाएका छैनौ। रिपोर्ट पर्खिरहेका छौ।’ सडलमा पर्ने मनहरा पुलको काम भने सम्झौताको ८ महिना हुँदा पनि सुरु भएको छैन।
योजना कार्यालय र उच्चाकोटी–शनिदेव–साजेन्द्र–स्वार जेभी बिच २०७७ चैत ३१ गते सम्झौता भएको उक्त पुलको काम अझै सुरु नभएको हो। ६२ मिटर लम्बाइको मनहेरा पुल निर्माणका लागि ६ करोड ९९ लाख २ सय रुपैयाँमा सम्झौता भएको छ।
२९ महिनामा काम पुरा गर्नुपर्ने सम्झौता भएकोमा ८ महिना हुँदा पनि सुरु भएको छैन। मोहनापुल–अत्तरिया ६ लेन सडक योजना कार्यालयका निमित्त प्रमुख सिद्धराज पाध्यायका अनुसार उक्त पुलको माटो परीक्षणको काम पूरा नभएकाले काम सुरु नभएको हो।
उनले भने, ‘पुल निर्माणका लागि माटो परीक्षण गर्नुपर्ने हुन्छ। तर मनहरा पुल निर्माणका लागि माटो परीक्षण भएको छैन।’
भारतसँग सीमाना जोडिएको मोहनापुल निर्माणको भने अझै ठेक्का सम्झौता समेत भएको छैन। एक सय २१ मिटर लम्वाइको उक्त पुल निर्माणमा १९ करोड लागत अनुमान गरिएको छ।
गत भदौ २२ गते ठेक्काको सूचना सार्वजनिक गरिएको भए पनि अझै पुल निर्माणको सम्झौता भएको छैन। पाध्यायले भने, ‘मोहनापुलको ठेक्काका लागि सूचना सार्वजनिक गरेका छौ। मूल्यांकनको चरणमा छ। तर अझै पूरा भएको छैन।’
मोहनामा रहेको अहिलेको पुल भन्दा पूर्वपट्टि नयाँ पुल निर्माण हुने छ। मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको काम २०७४ जेठमा सुरु भएको थियो। चार पटक म्याद थप भए पनि अझै काम सम्पन्न भएको छैन। योजना कार्यालय भने अहिले प्रमुखविहीन छ।