धनगढीका सौनक भट्ट कसरी बने अन्तर्राष्ट्रिय मोटिभेशनल स्पीकर ?(भिडिओसहित)
धनगढी: अन्तर्राष्ट्रिय मोटिभेश्नल स्पीकर सौनक भट्ट धनगढीमा जन्मिए र धनगढीमै कक्षा ५ सम्मको औपचारिक अध्ययन पनि गरे। उनको थप अध्ययन भने काठमाडौंमा भएको थियो। विद्यालय जीवनमा उनले देखेका सपनाहरूको क्रम पनि गजबको छ। उनलाई कक्षा ६ मा पुग्दा लागेको थियो, कम्प्युटर इन्जिनियर बन्नुपर्छ भनेर। यो लाग्नुको कारण उनले ६ कक्षामा पढ्दा राम्रोसँग कम्प्युटर चलाउन जानेका थिए। त्यसपछि ८ कक्षामा पढ्दा वक्तित्वकलाहरुमा भाग लिँदा र प्रथम हुँदै गर्दा उनलाई त्यसै क्षेत्रमा भविष्य बनाउन सकिन्छ भन्ने लागेको थियो।
जब उनले एसएलसी पास गरे, त्यतिबेला सोचेजस्तो प्रतिफल प्राप्त गर्न सकेनन्। त्योबेला उनलाई लाग्यो डाक्टर बन्नुपर्छ। यी सपनाहरूको विषयमा उनी भन्छन्, ‘जीवनमा समय समयमा फरक–फरक सपना देखिन्छन्। अहिले पनि गतिलो मान्छे देखिए त्यस्तै बनु भन्ने त लाग्छ नै।’ छिटो छिटो धारा प्रवाह तवरले बोल्नसक्ने र हरेक स्थितिलाई सिकाइको रुपमा बोल्न सक्ने सौनक अध्ययनलाई हरेक स्पीकरले महत्वका साथ लिनुपर्ने बताउँछन्। र, युवाहरूलाई पनि उनी त्यसै सुझाव पनि दिन्छन्।
जीवनमा तालिमको महत्त्व पनि हुन्छ भनेर भर्खरै बुझ्न थालेको हाम्रो समाजमा युवाहरूले उनको कार्यक्रममा सहभागी हुने गरेको देखिन्छ। तर पछिल्लो समय भने स्टेजमा उनको उपस्तिथि कम देखिन्छ। आफैलाई केही चिजको खोजका लागि लागेको उनी आफै भन्छन्। यही प्रसंगलाई प्रश्नको रुपमा उनलाई राख्दा उनले भने, ‘हरेकले हेर्ने दृष्टिकोण फरकफरक हुन्छ। कसैले यसलाई सक्रियता नरहेको रुपमा लिन्छ। कसैले केही। मेरो नजरले हेर्ने हो भने पक्कै पनि कुनै समय थियो म स्टेज सेमिनार बढी गर्ने, ट्रेनिङहरु, फिजिकल ट्रेनिङहरुमा सक्रिय रहने गर्थे। त्यसपछिको अर्को समय आयो मैले केही चिज खोज्नका लागि त्यस्तो स्टेज प्रोग्रामहरु, फिजिकल ट्रेनिङहरु गरिन। अर्को समय आयो म समाजिक सञ्जालमा उपस्थित हुने।’
उनले आफूलाई निष्क्रिय भन्दा पनि फरक–फरक तवरले प्रस्तुत गर्न थालेको रुपमा ती स्थितिलाई लिन्छन्। अब छिट्टै स्टेज कार्यक्रम र फिजिकल ट्रेनिङहरु पनि सञ्चालन हुने र केही त सुरु पनि भइसकेको सौनक बताउँछन्। उनी आफैलाई आफू मोटिभेश्नल स्पीकर भन्न भने गाह्रो मान्छन्। आफु मोटिभेशनल स्पीकर भइसकेको भनेर मान्न उनलाई अप्ठ्यारो महसुस हुन्छ। उनी भन्छन्, ‘केही व्यक्तिहरुले नै मोटिभेशनल स्पीकर भनेर भनेपछि मात्रै आयोजना हुने आफ्ना कार्यक्रमहरुमा आफूलाई त्यही रुपमा चिनाउने गरेको छु।’
उनलाई मोटिभेशनल स्पीकर भनेर भन्दा सहज महसुस नहुनुको अर्को कारण पनि रहेछ। ‘मलाई अरुलाई मोटिभेट गर्नुभन्दा पनि अरुलाई कुनै समय डिमोटिभेट गर्न मज्जा आइरहेको हुन्छ। जुन आफै शक्तिशाली छ जस्तो पनि लाग्छ।’
भिडिओ
(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा अन्तर्राष्ट्रिय मोटिभेश्नल स्पीकर सौनक भट्टसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)