बझाङ बित्थडचिरका एक वडाध्यक्ष ‘गायब’, दुई महिनादेखि आएनन् कार्यालय
धनगढीः बझाङको बित्थडचिर गाउँपालिका–५ का वडाध्यक्ष २ महिनादेखि गायब भएका छन्। वडाध्यक्ष करबिर बोहरा विगत २ महिना यता वडा कार्यालय नआएको कार्यालयका सचिव नरेन्द्रराज जोशीले जानकारी दिए।
वडाध्यक्ष बोहरा दसैंमा घर गएको र त्यसपछि कहिल्यै कार्यालय नआएको उनले बताए। उनका अनुसार बोहरा करिब २ महिनादेखि कार्यालयको सम्पर्कमै छैनन्। यस्तै दुई महिनादेखि वडाध्यक्ष बोहरा कार्यालयमा उपस्थित नहुदा वडाको काम कारबाही प्रभावित भएको वडा सदस्य राम धामीले बताए। ‘उहाँ (वडाध्यक्ष) दसैं तिहार मनाउन कैलाली टीकापुर घर जानुभएको थियो। त्यसपछि कार्यालयमा आउनु भएको छैन,’ उनले भने।
दुई महिनादेखि वडाध्यक्ष बोहरा कार्यालयमा अनुपस्थित हुँदा सेवा प्रवाहमा समस्या भएको उनको भनाइ छ। वडाध्यक्षका कारण वडाबाट पाउने सेवा पाउनै कठिन भएको सेवाग्राहीको पनि गुनासो छ। यता, वडाध्यक्ष बोहरासँग दिनेशखबरले सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन। उनको मोवाईल स्वीच अफ छ।