सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एकैपटक शिलान्यास गरिएका ५४ अस्पतालको निर्माण अलपत्र

२०७८ मंसिर २१, ११:२५ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः एक वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकामा गरी एकैपटक ५४ वटा आधारभूत अस्पताल निर्माणको शिलान्यास गरिका थिए। गत कात्तिक २ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालबीच भएको बैठकले एकैसाथ जग्गा प्राप्त भएका स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्ने निर्णय गरेकाे थियाे।  अध्ययन, अनुसन्धान बिना नै शिलान्यास गरिएका ती स्थानको अवस्था अहिले आएर भने दयनीय छ। स्रोत सुनिश्चितताबिना नै ५ देखि १५ बेड क्षमताका आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएका स्थानको विषयमा प्रदेश सरकार अनभिज्ञ छ। 

संघीय सरकारले शिलान्यास गरेका अस्पतालको विषयमा प्रदेश स्वास्थ्य निर्देशनालय समेत जानकार छैन। गत वर्ष एकैपटक विभिन्न पालिकाहरुमा ५४ अस्पतालको शिलान्यास भएको जानकारी मात्र पाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। ‘डोटीमा सरुवा रोग अस्पताल निर्माणका लागि गत वर्ष पनि बजेट आएको थियो। यसपालि पनि बजेट विनियोजन भएकाले निर्माणको काम अघि बढिरहेको छ।

त्यसबाहेक कुनै जानकारी छैन’ उनले भने। यस्तै एकैपटक शिलान्यास भएका अस्पतालको विषयमा सुदूरपश्चिम प्रदेश सरकारलाई पनि कुनै जानकारी नभएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्रसिंह कार्कीले बताए। आवश्यक जमिन, स्रोत र विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) निर्माणपछि मात्र अस्पतालको शिलान्यास गर्नुपर्ने नियम छ। तर बिना अध्ययन र बिना स्रोत अस्पताल निर्माणका लागि तोकिएका स्थानमध्ये अधिकांश स्थानमा विवाद मात्र उत्पन्न भएको छ। मेलौली नगरपालिका बैतडीमा अस्पताल निर्माणमा भएको विवाद अहिले पनि कायमै छ। २ स्थानमा जग्गा भएकाले अस्पताल निर्माणमा २ समूहको विवादका कारण काम अघि बढ्न नसकेको मेलौली नगरपालिकाका बैतडीका स्वास्थ्य संयोजक नारायणबहादुर चन्दले बताए। ‘बिना अध्ययन र प्रक्रियाबिना नै अस्पताल शिलान्साय भएकाले २ समूहबीच विवाद मात्र ल्याउने काम संघीय सरकारले गरेको छ।’

सुदूरपश्चिममा शिलान्यास गरिएका कुल अस्पताल मध्ये ७५ प्रतिशत अस्पतालको निर्माण शिलान्यासमा मात्र सिमित देखिएको छ। कतै जग्गाको समस्या देखिएको छ भने कतै बजेट नै विनियोजन नभएका कारण शिलान्यासबाहेकको काम हुन सकेको छैन। १० बेड क्षमताको अस्पताल निर्माणका लागि १० करोड बजेट प्राप्त गरेको दार्चुलाको मालिकार्जुन गाउँपालिमा अस्पताल निर्माणको २० प्रतिशत मात्र काम भएको स्वास्थ्य शाखा प्रमुख रामसिंह खत्रीले बताए। 

त्यस्तै १० बेड क्षमताकै अस्पताल निर्माणका लागि बडिमालिका नगरपालिका बाजुरामा अहिले आएर ठेक्का प्रक्रिया अघि बढेको बडिमालिकाका नगरप्रमुख पदम बडुवालले बताए। ‘१० करोड बजेटमा ठेक्का प्रक्रिया अघि बढेकाले निर्माण प्रक्रिया छिट्टै अघि बढाइनेछ’ उनले भने। 

जग्गा, स्रोत र डीपीआर बिना ५ देखि १५ बेड क्षमताका प्राथमिक अस्पताल निर्माणका लागि शिलान्यास गरिएको भएपनि अस्पताल निर्माणको कार्यप्रगति भने प्रायः शून्य देखिएको सरोकारवाला बताउँछन्।
 

कमेन्ट लोड गर्नुस