सुदूर नेपाललाई विश्वसँग जोड्दै

जाजरकोटमा थपिँदै स्वास्थ्य संस्था

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ मंसिर २१, ०९:१५ रासस

जाजरकोट : स्वास्थ्य संस्थाहरूको सङ्ख्या थपिँदै गएपछि रुकुमपश्चिमका स्थानीयवासीको सहजरूपमा उपचार गर्ने स्थानीयवासीको पहुँच बढेको छ। वडैपिच्छे स्वास्थ्य संस्था र पालिकास्तरमा अस्पताल बनेपछि स्थानीयवासीले सहजै उपचार पाउन थालेका हुन्।

अहिले एउटा वडामा कम्तीमा एक अहेव र एक अनमी छन्। स–सानो उपचारका लागि स्थानीयवासीले वडा छाड्नुपर्ने बाध्यता टरेको छ। आधारभूत स्वास्थ्य एकाइमार्फत सर्वसाधारणले वडा तहमै आधारभूत तहको स्वास्थ्य सेवा पाएका छन्। त्यस्तै गाउँपालिका र नगरपालिकामा स्थानीयवासीले चिकित्सकबाटै उपचार सेवा पाइरहेका छन्।

जिल्लामा छ स्थानीय तह छन्। स्थानीय तह कार्यान्वयनमा आएसँगै स्वास्थ्य संस्थाको सङ्ख्या पनि बढेको हो। छ स्थानीय तहमा छवटा अस्पताल छन्। दुई अस्पताल पुराना हुन् भने चार स्थानीय तहले आफैँ चिकित्सकसहितको अस्पताल सञ्चालनमा ल्याएका छन्। मुसीकोट नगरपालिकामा जिल्ला अस्पताल र चौरजहारीमा चौरजहारी अस्पताल पहिल्यै थिए। आठबीसकोट नगरपालिकाले ९ नं वडाको राडीमा नगर अस्पताल सञ्चालन गरेको छ। चौरजहारीले १० नं वडाको खोलागाउँ, सानीभेरीले ७ नं वडाको छोटेबगर र त्रिवेणीले ३ नं वडाको खारानेटामा अस्पताल सञ्चालन गरेका छन्।

आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले स्थानीय तह भनेको सङ्घीयता कार्यान्वयनको मुख्य आधार भएको बताए। आधारभूत आवश्यकता पूर्तिमा स्थानीय सरकार केन्द्रित भएको उनको भनाइ छ। छवटै स्थानीय तहले हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेका छन्। कुनै वडामा त दुई वटासम्म स्वास्थ्य केन्द्र स्थापना गरिएको मुसीकोट नगरप्रमुख देवीलाल गौतमले बताए। अहिले स–साना स्वास्थ्य समस्या वडामै निदान भइरहेको चौरजहारी नगरपालिका–१२ कालीबहादुर ओलीले बताए। “वडा बनेपछि स्वास्थ्यचौकी पनि वडामै बन्यो र सेवा पाइरहेका छौँ”, उनले भने, “अहिले खोप सेवा, परिवार नियोजन सुविधा र सामान्य उपचार घर नजिकै पाइरहेका छौँ।”

जिल्लाका चार स्थानीय तहले बनाएका अस्पतालले मात्रै करिब ६२ हजार बिरामीको उपचार गरेका छन्। चौरजहारी नगरपालिकाका स्वास्थ्य संयोजक डन्डप्रसाद शर्माले नगरपालिकाले स्थापना गरेको अस्पतालबाट सर्वसाधारणले नजिकै सेवा पाइरहेको बताए। 

कमेन्ट लोड गर्नुस