सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडका ग्रामिण सडकमा जोखिम मोलेर अटो सञ्चालन

फोटो: चौलानीखबर
फोटो: चौलानीखबर
२०७८ मंसिर २०, ०६:२७ कमल सावद

धनगढीः बाजुराको बडिमालिका नगरपालिकाको सुवाकादमा आइतबार तीन पाङ्ग्रे सवारी अटो दुर्घटना भयो। मार्तडीदेखि जडङ्गा जाँदै गरेको ४ जना सवार अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बाजुरा प्रहरीका अनुसार तीव्र गतिका कारण अटो दुर्घटनामा परेको थियो।

बाजुरासहित सुदूरका पहाडी तथा हिमाली जिल्लाका ग्रामिण क्षेत्रमा पनि ३ पाङ्ग्रे सवारी सञ्चालन हुँदै आएका छन्। जिल्लाका ग्रामिण क्षेत्रमा दुर्घटनाको जोखिम हुँदा पनि अटो रिक्सा सञ्चालन गर्न दिइएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले तीन पाङ्ग्रे सवारी दुर्घटनाको जोखिममा रहेको बताए। ‘दुर्घटना हुन सक्छ। तर सञ्चालन गर्न नदिने भन्ने छैन,’ उनले भने।

यस्तै गत वर्ष डोटीमा अटोरिक्सा दुर्घटना हुँदा ४ जना घाइते भए। जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरबाट पिपल्ला बजारतर्फ जादै गरेको लु१स ८८४८ नम्बरको अटोरिक्सा कुलपातेमा दुर्घटना भएको थियो। उता दार्चुलाका ग्रामिण सडकमा पनि सञ्चालन गरिएको, क्षमताभन्दा बढी यात्रु बोकेको र सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएकाहरुले पनि अटो चलाउदै आएको भन्दै दर्ता बन्द गर्न सुझाव दिइएको छ। जिल्लामा सञ्चालनमा रहेका अटो रिक्सा निश्चित क्षेत्रमा मात्र सञ्चालन गर्न र नयाँ दर्ता नदिन आग्रह गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले पनि नियम विपरीत रिक्सा सञ्चालनमा रहेको बताए। उनले भने, ‘जथाभावि सञ्चालन गर्ने तथा नियमको पालना नगर्ने र बढी यात्रु बोक्ने गरेका थिए। हामीले बन्द गराएका थियौं। नगरपालिकाले निश्चित क्षेत्रमा चलाउन र नयाँ दर्ता नगर्ने भनेपछि सञ्चालनमा छन्।’

विभिन्न देशमा पहाडी जिल्ला र हाइवे क्षेत्रमा अटो रिक्सा सञ्चालनमा रोक लगाइएको पनि छ। तर सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारी दुर्घटनाको उच्च जोखिममा भए पनि सञ्चालनमा रोक लगाउन कुनै ऐन नियम नरहेको नियमनकारी निकायको तर्क छ। स्थानीय तह र यातायात कायालयमा दर्ता हुने तीन पाङ्ग्रे अटो कुन क्षेत्रमा सञ्चालन हुने पनि उल्लेख गरिएको हुँदैन। 

तराई तथा समथर क्षेत्रका भित्री सडकहरुमा सञ्चालन गर्नुपर्ने सवारी पहाडी ग्रामिण सडकमा समेत सञ्चालन गरिँदा दुर्घटनाको जोखिम रहेको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए। उनले भने, ‘पहाडी जिल्लामा सबै सवारी दुर्घटनाको जोखिममा हुन्छन्। तीन पाङ्ग्रे रिक्सा बढी छ।’

पहाडी तथा ग्रामिण क्षेत्रमा सञ्चालन हुने अटो रिक्साका चालहरुसँग सवारी चालक अनुमति पत्र समेत हुँदैन। पहाडी जिल्लामा ट्राफिक प्रहरीको उपस्थिति तथा नियमन गर्ने निकायको समेत अभाव देखिएको छ। यता यातायात कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले ऐन नियममा कुनै कुरा उल्लेख नभएको बताए। ‘तराई र पहाड भन्ने छैन। स्थानीय तहको निश्चित क्षेत्र भनिएको हुन्छ। स्थानीय तहहरुले नियमन गर्नुपर्ने हो, तर भएको छैन’ उनले भने।


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस