सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मन्त्रीहरुबिच भ्रमण र इन्धनमा खर्च गर्ने होडबाजी

२०७५ पुष १६, ११:१३ जनक विष्ट

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसँग मन्त्रालयगत अनुगमन मुल्याङकन खर्च शिर्षक अन्तरगत योजना अनुगमन, दैनिक भ्रमण भत्ता वापतको खर्चको पूर्ण विवरण माग गरिएकोमा योजना अनुगमनको खर्च लुकाएर फेरी पनि पूर्ण सूचना दिन आलटाल गरिएको छ। केही समय पहिले मात्र नियुक्त भएका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग राज्यमन्त्री प्रकाश रावलको खर्च विवरण पनि उपलब्ध गराईएको छैन्। तर प्राप्त भएको तथ्याङ्कलाई मात्र केलाउदा पाँच महिनाको अवधीमा मन्त्रीहरुले भ्रमण खर्च र दोहोरो इन्धन खर्च समेत गरेर १९ लाख ७० हजार लिइसकेका छन्। 

प्रदेशका कानुन मन्त्री प्रकाश शाह सबैभन्दा बढि खर्चिला देखिएका छन्। उनले भ्रमण खर्च, दैनिक भत्ता र हवाई भाडा वापत मुख्यमन्त्री कार्यालयबाट पाँच महिनाको अवधीमा सबैभन्दा बढि एक लाख ५० हजार र इन्धन खर्च वापत मुख्यमन्त्री कार्यालयबाट एक लाख २३ हजार र कानुन मन्त्रालयबाट समेत लिएको ८९ हजार गरेर ३ लाख ६३ हजार खर्च गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मुख्यमन्त्री त्रिलोचन भट्टको  इन्धन खर्च लुकाएपनि उनले पाँच महिनामा भ्रमण खर्च वापत एक लाख २८ हजार बुझिसकेका छन्। खर्चको हिसाबले अग्र पंक्तिमै रहेकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले पनि दैनिक भ्रमण खर्च, दैनिक भत्ता तथा हवाई भाडा र इन्धन खर्च वापतको दोहोरो रकम गरेर दुई लाख ४१ हजार लिएकी छन्।

मन्त्री चौधरीले भ्रमण खर्च र हवाई भाडा वापत मात्र ६६ हजार, इन्धन खर्च वापत मुख्यमन्त्री कार्यालयबाट एक लाख २३ हजार र मन्त्रालयबाट ५१ हजार लिएकी हुन्। चाैथाे नम्बरमा रहेकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले पनि दैनिक भ्रमण, दैनिक भत्ता र इन्धन खर्च वापतको दोहोरो रकम गरेर दुई लाख २३ हजार लिएकी छन्।

उनले भ्रमण खर्च वापत ८९ हजार तथा इन्धन खर्च वापत मुख्यमन्त्री कार्यालयबाट एक लाख २३ हजार र आफ्नो मन्त्रालयबाट ९  हजार बुझेकी छन्। यस्तै भौतिक पूर्वाधार विकास मन्त्री पठान सिह बोहोराले पनि भ्रमण खर्च र दोहोरो इन्धन सुविधा वापत गरेर २ लाख ८ हजार, अर्थ मन्त्री झपट बोहोराले एक लाख ९३ हजार तथा बर्खास्तमा पर्नु अघिका तत्कालीन सामाजिक विकास मन्त्री दीर्घ सोडारीले भ्रमण खर्च वापत र इन्धन सुविधा वापत एक लाख ७० हजार लिएको उपलब्ध विवरणले देखाएको छ।

भौतिक पूर्वाधार विकास मन्त्री बोहोराले भ्रमण खर्च वापत ८४ हजार र इन्धन खर्च वापत मुख्यमन्त्री कार्यालयबाट एक लाख २३ हजार मन्त्रालयबाट १७ हजार रकम, अर्थमन्त्री झपट बोहोराले भ्रमण खर्च वापत ४४ हजार ७ सय र इन्धन खर्च वापत मुख्यमन्त्री कार्यालयबाट एक लाख २३ हजार मन्त्रालयबाट २५ हजार लिएका छन्। भ्रमण खर्च उपलब्ध नगराइएपनि केही समय पहिले मात्र नियुक्त भएका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले इन्धन खर्च वापत मन्त्रालयबाट मात्र ३६ हजार तथा उद्योग पर्यटन राज्यमन्त्री प्रकाश रावलले ४१ हजार मन्त्रालयबाट लिएका छन्।

मन्त्रीहरुले सरकारी कामको सिलसिलामा जादा दैनिक भ्रमण भत्ता वापत २५ सय पाउने प्रावधान भएपनि निजि काममा जादा पनि भ्रमण खर्च लिने गरेका छन् भने मासिक २ सय ५० लिटर इन्धन सुविधा भएपनि अनुगमन र कार्यक्रमका नाममा मन्त्रालयबाट समेत इन्धन लिदै आएको आरोप लागेको छ।
   
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस