सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

२०७८ मंसिर १८, ०८:४६ रासस

दमौली: तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा आजदेखि दोस्रो ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ। झापुटारमा सुरु भएको सो प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ऋषिङ गाउँपालिका ‘बि’ विजयी भएको छ। 

ऋषिङ ‘बि’ले म्याग्दे गाउँपालिकालाई ३–० ले पराजित गरेको हो। ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैका अनुसार उक्त प्रतियोगितामा तनहुँको व्यास नगरपालिका, भिमाद र शुक्लागण्डकी नगरपालिका, म्याग्दे, आँबुखैरेनी र घिरिङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिका, कास्कीको मादी गाउँपालिका र रुपाकोट गाउँपालिका, बाग्लुङको गलकोट नगरपालिका तथा नवलपुरको बौदीकाली गाउँपालिका सहभागी छन्। आइतबार चार खेल सञ्चालन हुने दरैले बताए।  

विकाससँगै खेलकुदका गतिविधिलाई अगाडी बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ। 
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः  एक लाख ४० हजार, एक लाख र ६० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस