एकीकृत समाजवादी बैतडीका छ पालिकामा नेतृत्व चयन
बैतडी: नेकपा एकीकृत समाजवादीले यहाँ सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ। जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गर्ने अभियानअन्तर्गत हालसम्म छ स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा ९एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्टले जानकारी दिए। हालसम्म दोगडाकेदार, सुर्नया गाउँपालिका तथा पाटन, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिसकिएको जनाइएको छ। पाटनको अध्यक्षमा लोकेन्द्र विष्टसहित ५५ सदस्यीय, दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१ र मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो।
गठन गरिएका सबै पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि मङ्सिरभित्र नेतृत्व चयन गरिने सो पार्टीले जनाएको छ। एमालेसँग विभाजन भएपछि सो पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ। तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने जनाइएको छ। मङ्सिरमा सबै पालिकामा सङ्गठन विस्तार गरिने र त्यसपछि सङ्गठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष दिनेश ठगुन्नाले बताए।
एमाले रहँदा यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित गरिएको थियो। जिल्ला अध्यक्ष भट्ट रहेको १५१ सदस्यीय उक्त समानान्तर कमिटी समाजवादीमा समाहित गरिएको हो।