देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा सात हजार ८३६ जनाको पीसीआर परीक्षण गरिएको थियो। यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षणपछि भएका सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार १७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५६९ पुगेको छ। पछिल्लो समय थप ३४७ जना कोरोनाबाट निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या आठ लाख तीन हजार ७१६ पुगेको छ। निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्मु नभएको मन्त्रालयले जानकारी गराइएको छ। यस रोगबाट हालसम्ममा मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत रहेको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९२१ रहेको छ। हाल होम आइसोलेशनमा छ हजार ५७९, संस्थागत आइसोलेशनमा ३४२, आइसीयुमा १०७ र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ। त्यसैगरी पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी गराएको छ।